पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ ।
सहकारी ठगी आरोपमा अनुसन्धान गर्न लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।”जिल्ला प्रहरी कार्यालय कास्कीको च.नं.७00३ मिति २०८१।०७।०२ गतेको पत्रमा उल्लेखित व्यक्तिहरु रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गरी बयान लगाएतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिव देखिएकोले मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनमति दिइएको व्यहोरा अनुरोध छ”, पक्राउ अनुमति पत्रमा भनिएको छ ।
गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन सहकारी समेतका ७ सहकारीबाट लगानी गरिएको निश्कर्ष निकाल्दै सहकारी ठगी प्रकरण छानविन गर्न गठित संसदीय छानविन समितिले ठहर गर्दै गोरखा मिडियाका तत्कालिन संचालकहरुमाथि कारवाहीको सिफारिस गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया, डीएसपी बसन्तकुमार शर्मा पक्राउ पुर्जी लिएर अदालतमा पुगेका थिए ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।
प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि पूर्व डीआईजी जोशी गत असोज ६ गते नै पक्राउ परिसकेका छन् । उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरी कास्की लगिएको थियो ।
संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।
पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए।