पोखरा-सर्बसाधरण जनताले सहकारीमा जम्मा गरेको करोर्डौं रुपयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गत शुक्रबार काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाटै समातिएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आईतवार थप अनुसन्धानका लागि म्यादथप गर्न अदालतमा लगेको थियो ।
सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोक तनावग्रस्त बन्न पुगेको थियो । लामिछानेलाई अदालत उपस्थित गराउनेक्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आईतवार बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक र ग्रैहापाटनको पालिखेचोकदेखि नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा आदि विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो । अर्को आदेश जारी नभएसम्म निषेधज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा जारी आदेशमा उल्लेख छ ।
पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा लामिछाने विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।