मुस्ताङ–हिमालपारीको जिल्ला मुस्ताङ घुम्न आएका अमेरिकी र भारतीय नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा ६३ बर्षिय अमेरिकी नागरिक मिलो गोलसेगरको होटलमा गिजरमा पानी तताएर नुहाउनेक्रममा मृत्यु भएको प्रहरीको अनुमान छ । थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका गोलसेगरलाई उद्धार गरेर जोमसोम अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैगरी भारतको महाराष्ट्र मुम्बई अँधेरी वेष्ट वर्सोवा पिनकी ६९ वर्षीया शारदा महादेव लगडेको मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा लेक लागेर मृत्यु भएको थियो । अचानक बेहोस भई लडेकी लगडेलाई पनि जोमसोम अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले अमेरिकी र भारतीय नागरिकको शव परीक्षणका लागि जोमसोम अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको वताए ।
हालै गोरखा नगरपालिका—६ स्थायी वतन भई काठमाडौं नागार्जुन नगरपालिका—१ बस्ने ७० वर्षीय कुलनारायण जोशीको लेक लागेर मृत्यु भएको थियो । मुस्ताङ भ्रमणका लागि साथीहरूसँगै आएका जोशी घरपझोङ—४ जोमसोमस्थित होटल मेसोकोन्दोमा बास बसेका थिए। राति टाउको दुखेपछि जोशी होटलको डाइनिङ हलमा ढलेका थिए। त्यसपछि उनलाई होटलका स्टाफ र प्रहरीको सहयोगमा मुस्ताङ अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।