भैरहवा-सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि पक्राउपरेका रवि लामिछानेको रिहाईको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरोधमा उत्रिएकोप्रीत बुटवलको सुप्रिम सहकारीका पीडितहरूले असन्तुष्टि र चिन्ता व्यक्त गरेका छन् ।
रास्वपाका सभापति लामिछानेको व्य्िक्तगत मुद्धामा सिंगो पार्टी सहकारी ठगिको अनुसन्धान र कार्वाहीलाई निस्तेज पार्ने योजनाका साथ रास्वपा सडकमा उत्रिएकोप्रति सहकारी पीडितहरुले आप्ित्त जनाएका छन ।
सुप्रिम सहकारीका पीडितहरूको सङ्घर्ष समितिका अध्यक्ष विजयकुमार नेपालले निष्पक्ष न्याय सम्पादन हुनेमा आफूहरू आशावादी रहेको बताए । “अब हाम्रो अन्तिम आशा गर्ने ठाउँ भनेको अदालत हो, अदालतले दोषीलाई कारबाही गरेर हामीलाई पक्कै न्याय दिने छ, अनि हामीले बचत फिर्ता पाउने बाटो खुल्नेछ,” उनले भने । कतिपय पीडितहरूले रास्वपाका कार्यकर्ताले फोन गरेर आन्दोलन नगर्न दबाब दिएको बताएका छन् ।
आफूहरू सरकारसम्म आवाज पुर्याउनका लागि लामो समयदेखि आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष नेपालले बताउनुभयो । “हामीले धेरै निकायमा हाम्रा आवाज पुर्याएका छौँ,” उनले भने, “बचत रकम डुबेपछि घरबारविहीन हुनु परेको छ । सडकदेखि संसद् भवनसम्म हाम्रा आवाज पुर्याउन लागिरहेका छौँ ।”
तिलोत्तमा जानकीनगर निवासी दुर्गा रिमालले सहकारीमा आफ्नो ६० लाख डुबेको बताइन । “सहकारी बचत अपचलनको आरोपमा रवि लामिछाने पक्राउ पर्दा रास्वपाले गरेको आन्दोलनका कारण हामी चिन्तित भएका छौँ, कतै हाम्रो बचत फिर्ता नभएर बिचल्ली त हुँदैनौँ भन्ने डर छ,” उनले भनिन “पैसा डुबेपछि घरमा झगडा हुने गरेको छ । कति साथीहरूको सम्बन्ध विच्छेद समेत भएको छ । हामीलाई कसले न्याय दिन्छ ।”
सहकारीका अर्का बचतकर्ता बुटवल–१० निवासी टामलाल ज्ञवालीले प्रहरीले अनुसन्धान गरिरहेको र अदालतमा मुद्दा चलिरहेको विषयमा सडकबाट दबाब सिर्जना गर्नुले रास्वपाको सुशासनप्रतिको प्रतिबद्धतामा प्रश्न उठेको बताए । “हाम्रो बचत डुबेको छ, दोषी या निर्दोष जे भए पनि अदालतले फैसला गर्छ तर सडकबाट दबाब सिर्जना गर्ने कुराले हामी पीडितहरूलाई तर्साएको छ,” उनले भने । ज्ञवालीले सुप्रिममा आफ्नो १७ लाख रुपियाँ डुबेको बताए ।
बुटवलकी दृष्टिविहीन राजकुमारी लगौंटियाले बत्ती कातेर जम्ममा गरेको पौने तीन लाख रुपयाँ सहकारीले खाईदिएपछि समस्यामा परेकी छिन । “म आँखा देख्दिनँ, उमेरले वृद्ध भइसकेँ, बत्ती कातेर केही पैसा जम्मा गरेकी थिएँ, त्यही पनि सहकारीका मान्छेले खाइदिए,” राजकुमारीले भनिन ।
भैरहवामा व्यवसाय गर्दै आउनुभएकी दुर्गा चन्दले सुप्रिमले आफ्नो ३० लाख रुपियाँ खाइदिएको बताईन । सहकारीका नाममा सर्वसाधारणको करोडौँ रकम ठग्नेलाई कारबाही गर्दा सडक आन्दोलन गर्नु जायज नभएको उनले बताईन ।
सहकारीमा मुद्दती बचतकर्ताको बढी रकम डुबेको हो । राम्रो ब्याजदर दिएपछि उनीहरूले सहकारीमा मुद्दती खाता खोली लाखौँ रकम जम्मा गरेका थिए । सो सहकारीबाट विभिन्न व्यक्तिका नाममा करोडौँ रकम ऋण लगानी भएको छ । प्रहरीको प्रतिवेदनमा सहकारीका संस्थापक जिबी राईदेखि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको नाममा पनि ऋण लगानी भएको देखिएको छ ।
सहकारीबाट आफूहरू ठगिएको भन्दै एक हजार आठ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । तिनै पीडित न्यायको माग गर्दै लामो समयदेखि सडक प्रदर्शनमा उत्रिएका छन् ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । जसमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पूर्वपक्षका लागि थुनामा पठाइएको छ । सचिव पुनसहितका छ जना धरौटीमा छुटेका छन् । अन्य १९ जना अहिले पनि फरार छन् । गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका छन् । ८६ करोड १८ लाख ठगी भएको पीडितले बताए पनि प्रहरी अनुसन्धानबाट एक अर्ब दुई करोड रकम हिनामिना भएको देखिएको छ ।
त्यस्तै गोर्खा मिडियामा सहकारीबाट १४ करोड २१ लाख रुपियाँ गएको र जसमा पूर्वडिआइजी छविलाल जोशीका नाममा दुई करोड ५० लाख र रवि लामिछानेका नाममा दुई करोड गएको छानबिन समितिको प्रतिवेदनमा देखाइएको छ । रूपन्देही जिल्ला अदालतले जोशी र लामिछानेसहित १२ जनालाई सङ्गठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ ।