काठमाडौँ — सरकारले मंसिर १ बाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।
पौडेलले मन्त्रालयमा पद बहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति रहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
नेपालमा कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारकका रूपमा रहेको छ । त्यसमध्ये पनि ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार सेवा निःशुल्क गर्ने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।
नेपालले मंसिरको दोस्रो सातादेखि बालबालिकामा हुने क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो । त्यसको पहिलो खोप मंसिरको दोस्रो साताबाट आउन थाल्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । सम्झौताअनुसार नेपालले ४ वर्षसम्म ती औषधि निःशुल्क पाउनेछ ।
औषधिको प्रभावकारी वितरण सुनिश्चित गर्न तथा आपूर्ति शृंखला प्रणाली र स्वास्थ्य सेवा सुविधालाई सुदृढ गर्न डब्लूएचओले प्राविधिक सहयोग उपलब्ध गराउनेछ । युनिसेफले औषधि खरिद गरेर सम्बन्धित देशलाई हस्तान्तरण गर्छ । उक्त औषधि हाललाई भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र पाटन अस्पतालमा उपचार गर्ने बालबालिकामा क्यान्सर देखिएको खण्डमा प्रयोग गरिनेछ ।
बालबालिकालाई हुने क्यान्सरका लक्षण
जन्मदेखि १९ वर्षबिचको उमेर समूहकालाई देखिने क्यान्सरलाई बालबालिकामा हुने क्यान्सर भन्न सकिन्छ । यो उमेर समूहमा प्रायः ब्लड क्यान्सर देखिन्छ । ठुलो मान्छेको तुलनामा बालबालिकालाई तुलनात्मक रूपमा क्यान्सर कम नै हुन्छ । नेपालमा करिब ४२ प्रतिशत जनसङ्ख्या १९ वर्ष मुनिको छ । हरेक वर्ष यो उमेर समूहका करिब १५ सय जनामा क्यान्सर हुने गरेको पाइएको छ ।
१९ वर्ष मुनि उमेर समूहका व्यक्तिमा मुख्यतः १२ प्रकारका क्यान्सर देखिन्छ । ठुलो मान्छेलाई हुने क्यान्सरभन्दा बच्चामा हुने क्यान्सर फरक प्रकृति र फरक समयमा देखिने खालका हुन्छन् । बालबालिकामा सबैभन्दा बढी देखिने क्यान्सर भनेको ब्लड क्यान्सर हो । क्यान्सर प्रभावित प्रत्येक ३ बालबालिकामध्ये एक जनामा ब्लड क्यान्सर हुन्छ । यसरी हेर्दा क्यान्सर हुने बालबालिकामध्ये करिब ३० देखि ४० प्रतिशतको हाराहारीमा ब्लड क्यान्सर नै हुन्छ । यस प्रकारको क्यान्सर करिब ९० प्रतिशत निको पार्न सकिन्छ ।
शरीरका विभिन्न ठाउँका ग्रन्थिमा आउने क्यान्सर, ब्रेन ट्युमर ९मस्तिष्क र स्पाइनलको ट्युमर० पनि बालबालिकामा हुन्छ । ब्रेन ट्युमर धेरैजसो मस्तिष्कको तल्लो भागबाट सुरु हुन्छ । जस्तो सेरिबेलम वा ब्रेन स्टेम । यस्तै, बच्चालाई हुन सक्ने अर्को क्यान्सर हो आँखाको क्यान्सर ९रेटिनो ब्लास्टोमा० । यो क्यान्सर बच्चा जन्मदेखि नै आउन सक्छ । पाँच वर्ष मुनिका बच्चामा प्रायःजसो यो देखिन्छ । यस्तै, कलेजोमा पनि क्यान्सर हुन सक्छ । यसका अतिरिक्त बच्चालाई मिर्गौला, अण्डकोष र ओभरीको वरिपरि पनि क्यान्सर हुन सक्छ । यस्तै, नसाको क्यान्सर, हड्डीको क्यान्सर, छाला क्यान्सर लगायत १२ समूहका क्यान्सर हुन सक्छ ।
बालबालिकालाई हुने क्यान्सरका लक्षण
समग्रमा बच्चालाई हुन सक्ने क्यान्सरमध्ये ब्लड क्यान्सर र ग्रन्थि क्यान्सर मुख्य हो । ब्लड क्यान्सरले बच्चामा रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ । यो रोग हुँदा बच्चामा आफैँ पनि रोगसँग लड्ने क्षमता कम हुन्छ । रगतमा समस्या हुँदा बालबालिका झन् बढी कमजोर हुन्छन् । यसले गर्दा लामो समयसम्म ज्वरो आउँछ । एक दुई हप्तासम्म उपचार गर्दा पनि ज्वरो निको भएन भने ब्लड क्यान्सरको आशङ्का गर्नुपर्छ । त्यो बाहेक शरीरका विभिन्न ग्रन्थि बढ्छन् । शरीर कमजोर हुँदै जाने र रगतको मात्रा घट्ने हुनाले बच्चाहरू पहेँलो हुँदै जाने र हेमोग्लोबिन घट्दै जान्छ । प्लेटलेट भन्ने रक्त कोशिका घट्दै जाने हुनाले शरीरका विभिन्न ठाउँमा निला डाम देखिने हुन्छ । गिँजाट, दिसा, पिसाबमा रगत देखिन्छ ।
यस्तै, बच्चा कमजोर हुँदै गयो, खान मानेको छैन, शरीरका विभिन्न अङ्गबाट रक्तश्राव हुन्छ भने क्यान्सर हो कि भने शङ्का गर्न सकिन्छ । यस्तो अवस्थामा क्यान्सर हो कि होइन भनेर निर्क्योल गर्न आवश्यक छ ।
ग्ल्याल्ड क्यान्सरमा ग्रन्थि बढेको देखिन्छ । सुरुमा यसमा पनि राति ज्वरो आउने, पसिना आउने, बच्चा दुब्लाउँदै जाने हुन्छ । खान मन नलाग्ने हुन्छ । यस्ता लक्षण लामो समय देखिएमा क्यान्सरको आशङ्कामा स्वास्थ्य परीक्षण गराउनु पर्छ । कतिपय ब्लड क्यान्सर र ग्रन्थि क्यान्सरका लक्षण समान हुन्छन् । समग्रमा यस्ता लक्षणबाट रोगको पहिचान गर्न सकियो भने ब्लड क्यान्सर अथवा ग्रन्थि क्यान्सर छिटो पत्ता लाग्छ ।
क्यान्सर उपचार गर्दा लामो समय लाग्छ, निको हुँदैन, धेरै खर्च लाग्छ भन्ने छ । तर यो सत्य होइन ।
त्यसबाहेक ब्रेन क्यान्सरमा टाउको दुख्ने, वाक–वाक आउने अथवा कहिलेकाहीँ आँखामा समस्या हुने, हातखुट्टा कमजोर हुने अथवा कहिले कमजोरी हुँदै जाने हुन्छ । पढ्ने बच्चा छ भने उसको अक्षर परिवर्तन हुन्छ ।
कहिलेकाहीँ हिँड्ने बानी पनि परिवर्तन हुन्छ । कहिलेकाहीँ मुर्छा पनि पर्न सक्छ । यस्तै, सामान्य व्यवहारभन्दा फरक खालका लक्षण देखा पर्छन् । यस्तो अवस्थामा ब्रेन ट्युमर हो कि भनेर अनुमान लगाउन सकिन्छ ।
केही बच्चामा जन्मिँदै आँखामा ‘क्याट्स आइ’ हुन सक्छ । यो भनेको बिरालोको आँखा टल्केजस्तो टल्किने लक्षण देखिन्छ । भर्खर जन्मेको बच्चाको आँखाको फोटो खिचेर हेर्न सकिन्छ । सामान्य रूपमा त्यो नदेखिन सक्छ तर फोटोमा देखिन्छ । यस्तो देखिएमा चिकित्सकसँग सल्लाह सुझाव लिनुपर्ने हुन्छ ।
त्यसैगरी पेट फुलेर आएको छ, पेटभित्रका अङ्ग कलेजो, मिर्गौला, अण्डकोष, ओभरी लगायतमा हुने क्यान्सरको लक्षण हुन सक्छ । कसैलाई ज्वरो आउँछ, कसैको पिसाबमा रगत देखिन्छ । कहिलेकाहीँ जन्डिस हुन सक्छ । यस अतिरिक्त हड्डी सुन्निने, सामान्य लड्दा पनि हड्डी भाँचिने लक्षण देखा पर्छन् ।
बच्चाको क्यान्सर उपचार हुने ठाउँ
बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पतालमा पनि बालबालिकामा हुने क्यान्सर उपचारका सेवा उपलब्ध छन् । केही निजी अस्पतालमा पनि यस प्रकारको सेवा उपलब्ध छ । बालरोग विशेषज्ञ भएका ठाउँमा परीक्षण गरेर पहिचान गर्न सके बच्चामा हुने क्यान्सर निको हुन्छ ।
उपचार खर्च कति लाग्छ ?
क्यान्सर उपचार गर्दा लामो समय लाग्छ, निको हुँदैन, धेरै खर्च लाग्छ भन्ने छ । तर यो सत्य होइन । बालबालिकामा हुने धेरैजसो क्यान्सर ६ महिनामा उपचार गर्न सकिन्छ । समग्रमा क्यान्सर भनेर डराउँछौँ तर १ देखि २ लाख रुपैयाँको खर्चमा यो निको हुन्छ । ब्लड क्यान्सरका लागि ५ देखि ७ लाख रुपैयाँ खर्च लाग्न सक्छ । धेरै ठाउँमा क्यान्सरको उपचार निःशुल्क नै हुने गर्छ । जस्तो कि बेड, खाना निःशुल्क हुन्छ । समयमै पहिचान गर्न सकियो भने ५ देखि १० लाख खर्चमा क्यान्सर निको पार्न सकिन्छ ।
बिपी क्यान्सर अस्पतालमा १५ वर्ष मुनिका बालबालिकामा क्यान्सर पहिचान गर्न सके निःशुल्क उपचार हुन्छ । खाना, शय्या, आईसीयु निःशुल्क भए पनि औषधिको लागि खर्च हुन्छ । क्यान्सर सेवा समाज छ । केही सहयोग पनि त्यहाँबाट गर्न सकिन्छ । त्यस्तै, सरकारले दिने १ लाख रुपैयाँ उपचार खर्चबाट पनि उपचार गराउन सकिन्छ ।