कागको बारेमा प्रसिद्ध संस्कृत श्लोक
काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचक:।।
अर्थ: भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो दिन्छ तर मानिसको हकमा चाहिँ उनीहरू स्वार्थी हुन्छन् ।
काग का बारेमा
काग अर्थात् सन्देश प्रवाही प्राणी, काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?
कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।
आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
तिहारको कथा
सेल रोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी अनि भैलोका सङ्गीतहरू गुञ्जायमान यस पर्वको हर्षोल्लास अद्भुत छ, काग कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइनेका बारेमा धेरै किबंदन्तीहरु पाइन्छन् जस मध्य एकदमै प्रचलित कथा जसमा यम र उन् कि बहिनीको प्रसगं यहाँ प्रस्तुत गर्न जाँदै छौ ।
मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्, यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरूमार्फत दाजुलाई भेट्न आउन निम्तो पटाइन्, उनले यम समक्ष सुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसगं छ, दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूल मालाले पूजा गरी रङ्गिन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाइदिई पूजा गर्दै भाइटिका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौँ दिनमा भाइटिका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ । काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घर बाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ । घरघरमा झिलिमिली द्वारहरू बनाएर साँझमा दीप प्रज्वलन गरिन्छ, विभिन्न प्रकारका पटाकाहरू पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात् जुटको भित्र पटिको हलुका लट्टीहरूको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाइलोको यो माहौलमा सजग र सुरक्षीत रहन पनि एकदमै जरुरी छ । अर्कोतर्फ अब गाउँघरमा उत्साहित मान्छेहरूले उल्लासपूर्वक तिहारमा देउसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्ट्याउने आदि तैयारी सुरु भइसक्यो होला, ल है सबैलाई शुभकामना, यो तिहार उल्लासपूर्ण होस्
कागबारे केही रोचक तथ्यहरू
१. खाना हत्याउन चतुर तरिका अपनाउँछन्
कागहरु अवसरको ठ्याक्कै प्रयोग गर्न सक्ने र सृजनशीलल हुन्छ । खासगरी खानेकुराको नयाँ स्रोत पत्ता लगाउन वा आफ्नो जीवन सहज बनाउन खाने नयाँ नीति अपनाउने मामिलामा उनीहरु सिपालु हुन्छन् । अमेरिकी कागले आफ्नो आहारको लागि आफैं माछा समात्छन् । केहीले त माछालाई आफ्नो नजिक आकर्षित गर्न पाउरोटी वा अन्य खानेकुरा चारोको रुपमा पनि हाल्छन् ।
कागले अरु जनावरहरूको खाना पनि चोर्छन् । कहिलेकाँही यसले अरु चरालाई गुँडसम्म पछ्याएर वा जनावरलाई छक्याएर पनि खाना चोर्छ । जापानमा कारले कुल्चिएर फुटोस् भनेर कागले ओखरलाई सडकमा राखिदिएको भिडियो आएको थियो ।
२. आफ्नो लागि औजार पनि बनाउँछन्
चिम्पाञ्जीले धमिरा किरालाई समात्न काठको छेस्को प्रयोग गरेको भनेर सन् १९६० को दशकको शुरुमा प्रिमाटोलोजिष्ट जेन गूडअलले भन्दा संसार चकित भएको थियो । औजार प्रयोग गर्ने जीव मान्छे मात्रै हो भन्ने त्यसअघिको धारणा उनले भत्काएकी थिइन् । औजार प्रयोग गर्न निश्चित खालको संज्ञानात्मक परिष्कृतता चाहिन्छ । बाँदरका प्रजाति मात्रै नभएर जंगलमा बस्ने अन्य कयौं जीवनले पनि औजार प्रयोग गर्छन् भन्ने हामीलाई थाहा छ । गैर–बाँदर प्रजातिमा औजारको प्रयोगबारे सबैभन्दा धेरै अध्ययन भएको जीव/चरा कोर्भिड अर्थात काग नै हुन् ।
कयौं कोर्भिडले औजार प्रयोग गर्छन् तर नयाँ कालेडोनियन काग अलि बढी उन्नत छन् । चिम्पाञ्जीजस्तै यसले पनि किरालाई समात्न छेस्का प्रयोग गर्छन् । यसले केही कामका लागि प्राकृतिक रुपमा पाइने छेस्का प्रयोग गर्छन् । तर नयाँ कालेडोनियन कागले भने आफ्ना लागि औजार नै बनाउँछन् । यो भनेको विल्कुल नयाँ कुरा हो । छेस्का, पात वा काडालाई तिखारेर यिनीहरूले आफ्नो लागि औजार बनाउँछन् ।
केही प्रयोगमा यी कागहरूले बल्छी बनाउन लचिलो वस्तुलाई दोबारेर प्रयोग पनि गरेको पाइएको छ । केही अनुसन्धानमा कागले सानो छेस्काले तानेर ठूलो छेस्का हात पारेको देखिएको छ । कामै नलाग्ने दुई वा सोभन्दा बढी वस्तुबाट नयाँ हतियार बनाएको पनि पाइएको छ ।
३. मान्छेको बच्चाकै हाराहारीमा समाधान गर्न सक्छन् गुत्थी
हामीले सानैदेखि कागसम्बन्धी एउटा कथा पढ्दै अनि सुन्दै आएका छौं । त्यो के भने, तिर्खाएको कागले एउटा माटोको गाग्री देख्छ । ग्रागीको पिउँमा थोरै पानी हुन्छ । कागलाई यति धेरै तिर्खा लागेको हुन्छ कि त्यो पानी कसरी खाने भन्ने ध्याउन्नमा उसले आसपासबाट स–साना ढुंगा, गिट्टी चुच्चोमा च्यापेर ल्याउँदै गाग्रीमा खसाल्न थाल्छ । यसै क्रममा अन्ततः ग्रागीको पिउँको पानी उसले पिउन सक्ने गरी माथि आउँछ । कागले पानी पिएर जान्छ ।
कागले यस्तो गर्न सक्छ भनेर लोककथाले मात्रै होइन अनुसन्धानले पनि पूष्टि गरेको छ । रोचक कुरा चाँहि के छ भने कागमा मान्छेको ५ देखि ७ वर्षको बच्चामा जत्तिकै बुद्धि हुन्छ भनेर अध्ययनले देखाएको छ । ‘इन्साइड द एनिमल माइन्ड’ भन्ने बीबीसीको सिरिजमा कागले आठ चरणको पहेली समाधान गरेको थियो । आफ्नो औजार कसरी प्रयोग गर्ने भन्ने कुरा पनि कागले योजना बनाउन सक्छ भनेर करेन्ट जर्नलमा छापिएको एक अध्ययनले भनेको छ ।
४. मृतक चराको अन्त्येष्टि गर्छन्
कुनै कागको मृत्यु भयो भने कागहरूले अन्त्येष्ठीको आयोजना गर्छन् । कहिलेकाँही एक्लै एउटा काग त कहिले समूहले यस्तो र्गछन् । केही केसमा खसेको चरालाई काग कयौं दिनसम्म नियालेर हेरिबस्छन् । उनीहरूले शोक मनाएका हुन् त ?
वाशिङ्गटन विश्वविद्यालयमा कोर्भिड विज्ञ काएली स्वीफ्टले यसको जवाफ हुन सक्छ भनेर भनेकी छिन् । तर कुनै पनि जनावर वा चराको मस्तिष्कमा भावनात्मक रुपमा केह भइरहेको छ भनेर जान्ने कुनै तरिका नभएकोले कागहरू भावनात्मक रुपमा बुद्धिमान हुन्छन् भन्नेमा केही शंका हुन सक्न अनि यसको परीक्षण पनि समस्याकारी हुन सक्ने उनी बताउँछिन् । एकलास जंगलमा कोही मृतकको शव देख्यो वा भेट्यो भने अबको शिकार मै त हुने होइन भनेर मान्छे पनि त सर्तक हुन्छ । कागले पनि खतराको सम्भावित स्रोतलाई नियालेर भविष्यमा आफू कसरी सुरक्षित हुन सक्छु भनेर त्यस्तै गरेका हुन सक्ने स्वीफ्ट बताउँछिन् ।
५. काग पनि कुरा काट्छन्
केही खालका कोर्भिडले मान्छेको अनुहार चिन्छन् । विगतमा आफ्नो गुँडको नजिक आएका अनुसन्धातालाई चिनेर कौआ कराउँछ । उनीहरूले जे जस्तो पहिरन लगाएको भएपनि कौआले चिन्ने गरेको अनुसन्धानकर्ता बताउँछन् । कागका यस्ता केही गुण स्वीफ्ट र उनको सहकर्मीले मान्छेको अनुहारप्रति चराले देखाउने प्रतिक्रियाको अध्ययन वा परीक्षणको क्रममा थाहा पाएका थिए ।
अनुसन्धानका लागि जालमा पारेको वा समातेको कौआले खासगरी यस्तो खालको द्वेष राख्ने गरेको थाहा पाएपछि वाशिङ्गटन विश्वविद्यालयमा वन्यजन्तु विज्ञानका प्राध्यापक जोन मार्जलफलेको समूहले यसबारे थप परीक्षण गरेका थिए । अध्ययनमा अनुसन्धानकर्ताहरूले जंगली मान्छेको मुखौटा लगाएका थिए । तर पनि कागले आफ्नो शत्रुलाई चिने । पछिल्लो परीक्षणमा अनुसन्धानकर्ताहरूले मास्क लगाएर मृत काग समातेका थिए । भविष्यमा कागले त्यस्तै खालको मास्क लगाउनेको खेदो गरेको पाइयो । रोचक कुरा चाँहि के थियो भने कागले पूरै शरीरलाई भन्दा पनि अनुहारलाई मात्रै ध्यान दिएको मार्जलफले भनेका छन् ।
अन्य कयौं जवानरले पनि मान्छेको अनुहार चिन्न सक्छन् । उनीहरूको मस्तिष्कमा लामो समयसम्म स्मृति बस्ने अनि आफूहरूमाझ सूचना साटासाट गर्ने भएकोले कागमा यो खुबी स्पष्टै छुट्टिने खालको थियो । वर्षमा एक दुई पटक केही घन्टाका लागि मात्रै मास्क लगाएको मान्छे देखेपनि कागले त्यो अनुहार याद गरेर राखेको थियो । केही वर्षभित्र जंगली मान्छेको मास्क लगाएको मान्छे नजिक पर्दा कराउने चिच्याउने वा गाली गर्ने कागको संख्या दोब्बर नै भयो । यसरी कराउने अधिकांश कागलाई त बाँधिएको पनि थिएनन् । न त उनीहरूले मास्क लगाएको मान्छेले उनीहरूलाई नराम्रो लाग्ने केही काम नै गरेका थिए । यसको अर्थ एउटा कागले आफूले पाएको जानकारी परिवारका सदस्य वा अन्य साथी कागलाई भन्ने गरेका थिए । जंगली मान्छेको मास्क लगाउनेले समातेका अधिकांश काग मरिसकेका सन् २०१६ मा एउटा पत्रिकामा क्याट म्याकगोवानले लेखेका थिए ।
६. आफ्नै भाषा हुन्छ कागको
कागको कौं कौँ आवाजसँग त हामी सबै परिचित छौं । तर यिनीहरूको बोलीचालीको आफ्नै भाषा पनि हुन्छ । के तपाईलाई यो कुरा थाहा छ ? ठाउँ अनुसार मान्छेको भिन्न भाषा भए जस्तै कागको पनि फरक फरक भाषा हुन्छ । कम्पनी अफ क्रो एन्ड राभेन्सका लेखक ओर्निथोलोजिष्ट जोन एम. मर्जलफ र टोनी एङ्गेलका अनुसार क्षेत्रअनुसार कागको भाषा पनि फरक हुन्छ । उपत्यकै पिच्छे कागको बोलीचाली फरक हुन सक्छ ।कागले आफ्नो झुन्ड फेर्न सक्ला ? नयाँ समूहमा समायोजन हुन नयाँ आवाज सिक्न सक्यो भने यसले सो समूहमा मिसिन सक्छ । काग नयाँ झुन्डमा मिसियो भने समूहमा प्रभावशाली सदस्यको नक्कल गरेर कागले भाषा सिक्ने मर्जलफ र एङ्गेलले पुस्तकमा लेखेका छन् ।
७. आजीवन एउटैको भएर बस्छन् काग
काग सामाजिक चरा हो । यो चरा हामीमध्ये कयौंले सोचेको भन्दा बढी परिवारमुखी हुन्छन् । एक पटक कुनै कागिनीको संसर्गमा आएको काग आजिवन उसकै भएर बस्छन् । तर यिनीहरूको पारिवारिक जीवन अलि बढी जटिल हुन सक्छ । काग मोनोगामी भएको स्वीफ्ट लेख्छिन् । सामाजिक रुपमा काग मोनोगामी भएपनि जीनले भने यो बहुगामी वा असभ्य भएको देखाउँछ । केही कागले दोहोर जीवन पनि बाँच्ने कोर्नल ल्याब अफ ओर्निथोलोजीले बताएको छ । परिवारका बीचमा समय छुट्टाएर कागले दुई वटा जीवन जिउन सक्छ ।
८. घरमा सहयोगीको रुपमा काम गर्न जवान काग घरमै बस्छन्
अमेरिकी कागहरूल् बसन्तको शुरुमै छेस्का, खास, प्वाँख आदि लिएर गुड बनाउन थाल्छन् । कसैले आफूलाई हेरिरहेको छ वा नियालिरहेको छ भन्ने लाग्यो भने तिनीहरूले नक्कली गुँड पनि बनाउँछन् । साना कागहरू शुरुका केही महिना अभिभावकमा निर्भर रहन्छन् । तर बाउआमाको गुँडबाट अन्यत्र सरेपनि लामो समयसम्म यिनीहरू परिवारको नजिकमा बस्छन् ।
विस्तारै यिनीहरूले अभिभावकसँग कम समय बिताउँछन् अनि ठूलो झुन्डमा बढी समय बिताउन थाल्छन् । मौसमको परिवर्तनसँग आउने चुनौतीको सामना गर्छन् । यिनीहरू आफ्नो पार्टनर भेट्नु भन्दा अगावै उड्छन् वा आफ्नो छुट्टै ठाउँ बनाउँछन् । कहिलेकाँही घरमै बसेर सहायकको रुपमा बाआमाका नयाँ साना चल्लालाई सघाउने काम गर्ने स्वीफ्ट बताउँछिन् ।
केही वर्षसम्म यिनीहरूले बाउआमालाई साना बच्चा हुर्काउन सघाउँने कर्नेल ल्याबको भनाइ छ । कागको एउटा परिवारमा १५ जनासम्म हुन सक्छ । यसमा पाँच फर फरक वर्षका बच्चाहरू पनि हुन सक्छन् । यस्तो किन हुन्छ भन्ने चाँहि स्पष्ट नभएको स्वस्फ्ट बताउँछिन् ।
९. काग बाठा हुन्छन्, तर अपराजेय हुन्नन्
मान्छेहरू कागलाई बदनाम गर्छन् । यसका अबाञ्छित व्यवहारमा बढी ध्यान दिएर यसका गुणलाई वेवास्ता गर्छन् । कागहरू निकै बाठा हुन्छन् । तर यसो भन्दैमा यी चरा मान्छेबाट सुरक्षित छन् भन्ने चाँहि होइन । हवाईएन काग चतुर कोर्भिड हो । तर सन् २००२ मा रोग, हिंस्रक जनावरको शिकार, बास गुम्दै गएको स्थिति र मानव अतिक्रमणका कारण यो विलुप्त भएको घोषणा गरिएको थियो । तर वैज्ञानिकहरूले प्रजनन कार्यक्रमलाई शुरु गर्नपर्याप्त हुने चरालाई बताए । अनि हराउनै लागेको यो प्रजातिको संख्या बढाए । काग कहिलेकाँही किसानको खेतबारी र बगैँचामा हमला पनि गर्छ । तर किटाणु वा किरालाई खाएर वा बिउ छरेर वातावरणमा पुर्याउने लाभले यिनीहरूले गर्ने क्षतिको भर्पाई गरिदिन्छ । हरेक जीवको बाँच्ने नैसर्गिक अधिकार छ । हामीमाग काग जस्तो बाठो चरा हुनु हाम्रो सौभाग्यको कुरा हो । यसले हामीलाई हाम्रो आफ्नै बौद्धिकताबारे थप सिक्न मद्दत गर्छ अनि हाम्रो आसपासको जीवजन्तुसँग हामी कत्तिको समान छौं भन्नेबारे हामीलाई स्मरण गराउँछ ।
धन्वन्तरि जयन्ती
को हुन धन्वन्तरि ?
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदै छ।
देवताहरूको चिकित्सक या भनौँ आयुर्वेदका भगवान् धन्वन्तरिको आज जन्म जयन्ती। हामी सबैले आयुर्वेदिक औषधीहरूको बारेमा त सुनेकै छौ। आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम भएको छैन। यिनै भगवान् धन्वन्तरिको मानवतालाई अनुपम देन हो, आयुर्वेद।
समुन्द्र मन्थन र भगवान् धन्वन्तरि
आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान् धन्वन्तरि अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ। आयुर्वेद "आयु र वेद"गरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले 'आयुको ज्ञान' भनेर बुझिन्छ। आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन्।