काठमाडौँ -साविक विजेता बंगलादेशले नेपाललाई २–१ ले हराउँदै साफ वुमन्स च्याम्पियनसिपको सातौं संस्करणको उपाधि रक्षा गरेको छ । घरेलु मैदानमा उपाधि चुमेर ईतिहास रच्ने नेपालको धोकोमा यस पटक पनि बंगलादेशले तगारो बन्यो ।
साफ वुमन्स च्याम्पियनसिपको उपाधि नजिक पुगेर पनि निेपाल निरास बनेको यो समेत छैठौं पटक हो ।
उपाधि रक्षाको लक्ष्यसहित आएको बंगलादेशले सन् २०२२ को उपाधि दशरथ रंगशालामै जितेको थियो । त्यति बेला पनि बंगलादेशले उपाधिको भिडन्तमा नेपाललाई नै हराएको थियो । यसपल्टको जित सम्भवतः त्यति बेलाभन्दा बढी आत्मविश्वासले भरिएको थियो । रितुपूर्ण चक्माले खेलको ८१ औं मिनेटमा गरेको सुन्दर गोल नै निर्णायक सावित भयो ।
रितुले नेपाली पोस्टको ठीक बाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो । पूरा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रितुले त्यस्तै खेल फाइनलमा पनि दोहोर्याएकी थिइन् । पहिलो हाफको गोलरहित बराबरीपछि खेलले गति लिएको थियो । खेलको पहिलो गोल बंगलादेशले निकालेको थियो । नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै ५२ औं मिनेटमा मोनिका चक्काले गोल गरिन् । कप्तान सविना खातुनको पासलाई उनले पोस्टको दिशा दिइन् ।
नेपालले ५६ औं मिनेटमा बराबरी गोल फर्कायो । प्रीति राईको थ्रु पासमा अमिशा कार्कीले बंगलादेशी गोलरक्षक रूपना चक्मालाई कुनै अवसर नदिएर गोल गरिन् । तर उनले पूरा खेल समय मैदानमा बिताउन पाइनन् र परिवर्तन भए । यो नेपाली टिमको गम्भीर भूल सावित भयो । ‘यो भने हाम्रो भूल नै रह्यो,’ पछि प्रशिक्षक तामाङले पनि स्विकारे ।
अमिशा बेञ्चमा फर्कंदा निराश देखिएकी थिइन् । आफूले गरेको गोलपछि उत्साहित उनको योगदान नेपालले पाउन सकेन । पहिलो हाफमा बंगलादेशले सुरुमै मौका पाएको थियो । नेपाली डिफेन्डर गीता राना चिप्लिएको स्थितिमा सिर्जना भएको अवसरमा सविना खातुनको पोस्टमा लागेको थियो । त्यसमै कप्तान सविनाको हेड नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले सजिलै नियन्त्रणमा लिइन् । खेलको दसौं मिनेटमा नेपाल त्यस्तै स्थितिबाट गुज्रियो ।
सावित्रा भण्डारीको पासलाई नियन्त्रण लिएर अमिशाले गरेको प्रहार पोस्टमा ठोक्किएको थियो र यो नेपालका लागि दुर्भाग्य जस्तै रह्यो । उत्कृष्ट गोलरक्षकको ट्रफी बंगलादेशकी रूपमा चक्माले पाइन् भने मोस्ट भ्यालुएबल प्लेयरमा रितुपूर्ण चक्मा चुनिइन् । सर्वाधिक गोलकर्ताको ट्रफी भुटानकी डेकी लाजोमले पाइन् । भुटानले फेयर प्ले ट्रफी पनि जितेको थियो ।
नेपाली टोलीका प्रशिक्षक तामाङले दिए राजीनामा
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्।उनले हारको जिम्मेवारी लिँदै प्रशिक्षक पदबाट राजीनामा दिएका हुन्।
बुधबार दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालले बंगलादेशसँग दुई एक गोलको हार बेहोरेको थियो।
यससँगै नेपाल साफको छैटौं फाइनल र अन्तर्राष्ट्रिय फुटबलको बाह्रौं फाइनलमा पराजित भयो।