नुवाकोट-नुवाकोटको पूर्वी भेगमा रहेको थानसिङमा सडक दुर्घटनामा एकजना युवकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । लिखु गाउँपालिका ६ दोबाटे थानसिङमा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु र दुईजना घाइते भएको नुवाकोट प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रक चालक भने पक्राउ परेका छन् ।
ढिकुरेबाट छहरेतर्फ जाँदै गरेको बा५ख ७०१६ नं।को आइचर मिनिट्रक र बिपरीत दिशाबाट आइरहेको बा६२प २८७९ नं. को मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार तादी गाउँपालिका ३ का ३६ वर्षीय बिनोद चौलागाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सो दुर्घटनामा ढिकुरेबाट छहरेतर्फ जाँदै गरेको मोटरसाइकल चालक तादी गापा ३ का ३२ वर्षीय राजाराम श्रेष्ठ,मोटरसाइकलको पछाडि सवार तादी गापा ३ कै ३६ वर्षीय बिनोद चौलागाई र पैदलयात्री लिखु गाउँपालिका ५ का १८ वर्षीय प्रशान्त गोतामेसमेत तीनजना गम्भीर घाइते भएको छन् । घाइतेलाई तत्काल उद्दार गरी काठमाडौं धापासीस्थित ग्रिनसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा चौलागाईको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार ठक्कर दिएको गाडी,गाडीका चालक ककनी गापा ८ को २९ विशालकुमार लामिछानेलाई नियन्त्रणमा लिइएको छ ।
घाइते मोटरसाइकल चालक श्रेष्ठ र पैदलयात्री गोतामेको अस्पतालमा उपचार जारी रहेको छ ।