बझाङ-बझाङको थलरा गाउँपालिका २ डोर गाउँमा अरिंगालले टोकेर दिदी भाइको मृत्यु भएको छ । डोरगाउँकी डम्मरा खातीका ३ वर्षीय छोरा सुरवीर खाती र ५ वर्षीया छोरी सिया खातिको अरिँगालको टोकाइबाट मृत्यु भएको हो । उनीहरु घाँस काटन जंगलमा गएकी आमासँगै गएका बेला अरिंगालले टोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीले ‘शनिबार दिउँसो घर नजिकै बारीमा डम्मरा र उनकी सासु घाँस काट्न जाँदा बालबालिका पनि सँगै गएका बेला घटना भएको वताए । ’ डीएसपी भण्डारीले भने, ‘बिच्किएको अरिँगालको टोकाइबाट दुई बालबालिकाको तत्कालै मृत्यु भएको खबर आएको छ। सोही घटनामा अरिँगालको टोकाइबाट डम्मरा, उनकी सासु र डम्मराकी सात वर्षीया छोरी सुमी पनि घाइते भएका छन्।’
उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको भण्डारीले बताए। यसअघि बझाङकै गुन्देल र तलकोटमा पनि अरिँगालको टोकाइबाट दुईजनाको मृत्यु भएको थियो।