२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

दार्चुलामा जीप दुर्घटनामा आठ तीर्थयात्रीको मृत्यु

दार्चुलामा जीप दुर्घटनामा आठ तीर्थयात्रीको मृत्यु

शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • दार्चुला - मालिकार्जुन मन्दिरमा मेला भर्न गएका यात्रु सवार जिप दुर्घटना हुँदा एक दम्पतीसहित आठ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । म१ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका–६ बकजेबलामा सडकबाट तीन सय मिटर तल खसेको हो । 
    जिल्ला प्रहरी दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार ७ जनाको घटनास्थल र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार राति मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु बोकेको जिप दुर्घटना भएको हो । दुर्घटनामा शैल्यशिखर नगरपालिकामा अमिन पदमा कार्यरत शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल र उनकी श्रीमती २८ वर्षीया शान्ति, शैल्यशिखर–९ का ४५ वर्षीय दिलिप विष्ट, ४० वर्षीया मीना लेखक, बैतडीको डिलासैनी गाउँपालिका–५ का १५ वर्षीय सञ्जीव बोहरा र वीरेन्द्र बोहरा, भारत उत्तरप्रदेश विजनौरका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो ।
    रावल दम्पतीका ८ वर्षीय छोरा सन्दीपको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको मृतकका छिमेकी भुवनसिंह डाँगाले बताए । घाइतेमध्ये ४ जनालाई सेनाको हेलिकोप्टरबाट सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ । घाइतेहरू जिप चालक मालिकार्जुन गाउँपालिका–८ का सुनील जोशी, शैल्यशिखर–५ का सन्दीप रावल, बैतडी डिलासैनी–४ का उत्तम रोकाया र भारतीय नागरिक सोहिन साहलाई धनगढी लगिएको गोकुलेश्वर अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट उत्तमसिंह धामीले बताए ।
    मालिकार्जुन मन्दिरमा कात्तिक पूर्णिमाको अघिल्लो राति भव्य जात्रा हुने गरेको छ । जात्रामा पूजाआजा र मेला भर्न टाढाबाट समेत आउने गर्छन् । डीएसपी दाहालले साँघुरो घुम्तीमा चालकको असावधानीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । ‘रातभर जात्रामा जाग्राम बसेको, दिनभर यात्रु ओसारेको थकानले चालक निदाएर दुर्घटना भएको देखिन्छ,’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend