काठमाडौँ– पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिनुभयो ।
पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुग्नुभएको थियो ।
अस्पतालमा निधन हुनासाथ ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएकामा आजै बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो । नेपाल सरकारले आजै उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उहाँको योगदानको सम्मान गर्दै सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।