हेटौंडा- बारीमा घाँस काटन गएकी ७२ बर्षिया बृद्धाको बाघको आक्रमणमा परेर मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका ५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ ५ बजेको समयमा घर नजिकैको खोल्सामा बाघले आक्रमण गरेको थियो ।
मृतक रुम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गदै जादा घरबाट करिब ५ सय मिटर पूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीले बृद्धाको शव टाउको र पेटको केही भाग बाघले खाएको अवस्थामा भेटिएको बताए । मनहरी गाउँपालिका पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको रुपमा रहेको छ ।
मनहरीमा ४ महिनाअघि भैंसीले हानेर बाघ मरेको थियो। गत ५ भदौमा मनहरी गाउँपालिका– ६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो।