२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

तनहुँको मार्कीचोकमा सब स्टेसन निर्माण सम्पन

तनहुँको मार्कीचोकमा सब स्टेसन निर्माण सम्पन

बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • तनहुँ –  तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०÷१३२ केभी सब स्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सब स्टेसन मङ्गलबार विद्युत् प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको छ ।
    मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन मार्कीचोक सब स्टेसनबाट काठमाडौँसम्मको मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि मङ्गलबारनै २२० केभी मा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।
    ८२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९बाट १३२ केभी मा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सब स्टेसन चार्ज गरिएसँगै मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन २२० केभी मा सञ्चालनमा ल्याइएको हो ।
    मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौँको माता तीर्थमा २२०÷१३२ केभी सब स्टेसन निर्माण गरिएको हो ।
    मातातीर्थ सब स्टेसन निर्माण सम्पन्न गरी गत वैशाखबाट सञ्चालनमा आइसकेको छ । दुवै सब स्टेसनमा १६०÷१६० एमभिए क्षमताका दुई÷दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सब स्टेसनको क्षमता ३२०÷३२० एमभिए छ ।
    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सब स्टेसन सञ्चालनमा आएसँगै मर्स्याङ्दी नदी कोरिडोरका जलविद्युत आयोजनाहरूको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौँ उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए । 
    यसबाट देशको एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने बताए   मार्कीचोक–भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको छ ।
    मार्कीचोकबाट चन्द्रागिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आबद्ध गरिएको छ । त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट ) मा आबद्ध गरी माता तीर्थ सब स्टेसनमा समाहित गरिएको छ ।
    मर्स्याङ्दी–काठमाडौँ र त्रिशूली–काठमाडौँ प्रसारण लाइनबाट आएको करिब १÷१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत माता तीर्थ सब स्टेसनमा समाहित हुने छ ।
    मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत माता तीर्थ र मार्कीचोक सब स्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । दुवै सब स्टेसनको अनुमानित लागत करिब सवा दुई अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुयाँलले उल्लेख गरे । 
    नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend