बझाङ- बझाङको तलकोट गाउँपालिका–२ सुकगाडमा विहीवार राति से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको जीप सडकवाट करिव दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी पाँच वर्षीया आकृती धामीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए ।
यसैगरी राति नै करिब नौ बजे तिर मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक जय बहादुर डाँगाले बताए ।