२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

तिब्बतको दिङ्गे काउन्टी केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प

तिब्बतको दिङ्गे काउन्टी केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प

मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौँ - चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६.५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले  जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।
    भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।
    केन्द्रले ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।

    पुस २ देखि लगातार भूकम्प

    पुस लागेयता नेपालमा लगातार भूकम्प गइरहेको छ।

    -पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प

    -पुस ३ गते बझाङको धामेनालाई नै केन्द्रबिन्दु बनाए ४.१ म्याग्निच्युडको भूकम्प 

    -पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

    -पुस ६ गते बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प

    -पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प

    -पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प

    -पुस १२ गते कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प 

    -पुस १६ गते बिहान बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प

    -पुस १८ गते सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प

    -पुस १९ गते मुगुको लुमा क्षेत्र केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प

    -पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प 

    पुस ६ गतेको भूकम्पले बाजुरामा दर्जनभन्दा बढी घर भत्काए पनि यसअघिका भूकम्पबाट भने कुनै क्षति भएन।

    आज गएको भूकम्प भने क्षति गर्नै खालकै हो। तर यो खबर बनाउँदासम्म क्षतिका कुनै विवरण आइसकेका छैनन्। 

    राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नेपालमा उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्नसक्छ।

    यसभन्दा साना भूकम्प त नेपालमा औसत रूपमा दिनमै १० पटकसम्म जाने उनको भनाइ छ। 

    नेपालमा प्रविधिले २ म्याग्निच्युडदेखि माथिका भूकम्प रेकर्ड गर्न सक्ने भए पनि राष्ट्रिय भूकम्प मापन केन्द्रले भने सबैभन्दा ४ म्याग्निच्युडसम्मका भूकम्पको मात्र तथ्यांकमा समेट्ने गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend