२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

कुमारी सहकारी ठगीमा एमाले नेतासहित पाँच पक्राउ

कुमारी सहकारी ठगीमा एमाले नेतासहित पाँच पक्राउ

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • पोखरा-सर्वसाधरणले सहकारीमा जम्मा गरेको रकम निजी व्यवसायमा लगानी गरेर हालिमुहाली गरेको आरोपमा प्रहरीले म्याग्दीका एमाले नेता एंव जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जनालाई पक्राउ गरेको छ । अभियुक्तहरुलाई  म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रुपैयाँ बचत ठगीको आरोप छ । पक्राउ पर्नेहरुमा मनप्रसाद थजाली, थमबहादुर गर्बुजा, रुद्रबहादुर गुरुङ र देवीकुमारी थापा छन् । 
    पोखरास्थित गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले एक वर्षअघि गरेको अनुसन्धान प्रतिवेदनमा ‘जिसस प्रमुख थापाको योजनामा उक्त सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ बचत हिनामिना भएको’ उल्लेख छ ।
    जिसस प्रमुख थापा सहकारीका पूर्वउपाध्यक्ष हुन् भने थजाली र गर्बुजा पूर्वअध्यक्ष, गुरुङ पूर्वप्रबन्धक र देवकुमारी पूर्वकोषाध्यक्ष हुन् । थापा उपाध्यक्ष भएका बेला गर्बुजा सहकारीका अध्यक्ष थिए । आइतबार पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत म्याग्दीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
    एमाले नेतासमेत रहेका थापासहितको टोलीले सहकारीको रकम निजी बोर्डिङ स्कुल र घरजग्गा खरिदमा लगाएर दुरुपयोग गरेको सहकारी कार्यालयको प्रतिवेदनमा औंल्याइएको छ । त्यतिबेला सहकारीका अध्यक्ष गर्बुजा भए पनि उपाध्यक्ष थापाकै निर्देशनमा काम हुँदै आएको प्रतिवेदनमा उल्लेख छ ।
    सहकारीका हालका अध्यक्ष यमबहादुर रोक्कासमेतले ०७९ माघ २८ मा प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा लिखित निवेदन दिएर छानबिन गर्न माग गरेका थिए । उनीहरूको मागअनुसार रजिस्ट्रार कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्न अख्तियारी दिएको थियो । गौतमको छानबिन प्रतिवेदनले थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड हिनामिना भएको देखाएको हो ।
    प्रतिवेदनमा भनिएको छ, ‘थापाले बेनी बजारमा चलाउँदै आएको निजी विद्यालय बुद्ध एकेडेमीमा ऐनविपरीत बिनाधितो सहकारीबाट १६ करोड रुपैयाँ लगानी गरिएको छ ।’ ०६५ मा खुलेको सहकारीमा थापा सुरुवातका दुई कार्यकाल सचिव र त्यसपछि ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए । थापा र पूर्वसञ्चालक लोकबहादुर पुनले सहकारीबाट १८ करोड लगेर पर्वतको जल्जालमा घडेरी कारोबार गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
    सहकारीका सञ्चालक समिति पदाधिकारीले आफ्नो परिवारका सदस्यका नाममा सहकारीको अधिकांश सेयर राखेको समेत देखिएको छ । ४३ सय ८६ जना बचतकर्ता रहेको यो सहकारीमा ४ सय १८ जना मात्र सेयर सदस्य छन् ।
    प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन प्रतिवेदन प्राप्त भएपछि ३ महिनाभित्र हिनामिना भएको सबै बचत रकम सहकारीमा जम्मा गर्न निर्देशन दिए पनि पालना भएको थिएन । म्याग्दी प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर सागर पौडेलका अनुसार रजिस्ट्रार कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेपछि उनीहरू पक्राउ परेका हुन् ।
    छानबिन प्रतिवेदनमा सञ्चालक समिति सदस्य र व्यवस्थापकको मिलेमतोमा परिवारका नाममा सेयर कायम गरेर सर्वसाधारणको रकम हिनामिनाको तानाबाना बुनेको उल्लेख छ । रकम हिनामिनाका मुख्य योजनाकार भनिएका थापाले विभिन्न व्यक्तिका नाममा रकम लिएका थिए । उनीहरूले बिनाब्याज कर्जा लिएर सहकारीको रकम हिनामिना गरेको अनुसन्धानमा खटिएका वित्तीय विश्लेषक निर्मल गौतम बताउँछन् ।
    गण्डकी प्रदेशमा यसअघि पोखराको प्राइम सहकारीमा १ अर्ब ५९ करोड रकम हिनामिनाको प्रतिवेदन सार्वजनिक भएको थियो । हिनामिनामा संलग्न अधिकांश व्यक्ति राजनीतिमा माथिल्लो तहसम्म पहुँच भएका कारण अनुसन्धान प्रभावकारी हुन नसकेको बचतकर्ताको गुनासो छ । उता बागलुङको इमेज सहकारीमा डेढ अर्ब रुपैयाँ हिनामिना भएको प्रमाणका आधारमा ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपाली पक्राउ परेर अनुसन्धानमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend