विराटनगर-गोली प्रहारवाट सुनसरीको देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भिर घाइते भएका छन । पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली हानेको प्रहरीले जनाएको छ । घटनास्थलमा ३ राउन्ड गोली प्रहार भएको थियो। गोली लागि घाइते हुनेहरुमा २१ वर्षका शिवकुमार मेहता र २७ वर्षका रविनकुमार यादव रहेका छन्। मेहताको पेट र यादवको नाकमा गोली लागेको बताइएको छ।
शिवकुमारमाथि के कारणले गोली प्रहार गरिएको हो भनेर खुल्न बाँकी छ। गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कामेश्वरले कुन हतियारबाट गोली प्रहार गरेका हुन् भनेर यकिन भइसकेको छैन।
पिन्टुले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारमाथि देवानगन्ज बजार पुग्नसाथ साँझ ६ः३० बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ। शिवकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको प्रहरीले जनाएको छ। गम्भीर अवस्थाका उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले घटनाको पुष्टि गरे। घटनाका विषयमा थप बुझ्ने काम भइरहेको जानकारी उनले दिए। ‘गोली प्रहार भयो भन्ने जानकारी आएको छ। एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। थप बुझ्ने काम भइरहेको छ,’ डीआईजी अधिकारीले भने।