राजविराज -यौन हिंसापछि शंकास्पद अवस्थामा मृत फेला परेकी सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी दलित युवतीको हत्या भएको भन्दै बुधबार जाहेरी परेको छ। मृतक २० वर्षीया पूजाकुमारी रामकी आमा रामबतीदेवी रामले इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएकी छन्।
नागेन्द्र रामकी छोरी पूजाकुमारी मंगलबार शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्। मृतककी आमा रामबतीदेवीले दिएको जाहेरी दर्ता भई अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।
घटनापछि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुरको सहयोगमा सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक खतिवडाले बताए। ‘प्रारम्भिक अनुसन्धानले युवतीको हत्या भएको हुनसक्ने आशंका छ,’ उनले भने, ‘शव पोस्टमार्टमका लागि मंगलबार दिउँसो धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।’
उनका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि थप खुल्नेछ। सोमबार राति घरबाटै बेपत्ता भएकी पूजाकुमारी घरदेखि करिब एक किलोमिटर दक्षिण–पूर्वतर्फ तीनगछिया भन्ने ठाउँमा मृत भेटिएकी थिइन्।
पूजाकी आमा रामबतीदेवी अष्टयाममा सहभागी हुन गएपछि राति उनी आफ्नो भाइ विश्वजीतसँग घरमा सुतिरहेकी थिइन्। यतिकैमा पूजा बेपत्ता भएकी थिइन्।
छानबिन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका- ३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।
करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मंगलबार आफ्नै घरमा मृत फेला परेकी थिइन् ।
गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ ।
मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका- १ मा बस्ने दिदीलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारमा परेकी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनका अनुसार निजहरू उपर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएकामा उनीहरू पक्राउ पर्न सकेका छैनन् ।
प्रहरी उपरीक्षक शर्माले आफू जिल्लामा आउनुअघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सुक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जानकारी दिए । ‘गत फागुन २५ गते निजहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो । घटनालगत्तै पीडकहरू फरार छन् । उनीहरू नेपाल छाडी भारतमा लुकेका हुनाले खोजतलास गर्न चुनौती भए पनि प्रहरी प्रशासन निरन्तर लागिरहेको छ,’ उनले भने,’पीडितमाथि यौन दुर्व्यवहारलगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ ।’
प्रहरी उपरीक्षक शर्माले आज मात्र घटनास्थल पुगी पीडितपरिवालाई भेटेको जानकारी दिए । ‘मृतक आनन्ददेवीको दुई वर्षकी छोरी छिन् । आनन्दीदेवी एकदवर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा हिजो मृत फेला परेकी हुन्,’ उनले भने ।
मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।