वीरगन्ज-वीरगन्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा हटाउने भएको छ। बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जमा आइतबारदेखि लगाइएको निषेधाज्ञा शुक्रबार बिहान ७ बजेदेखि हटाउने निर्णय गरेको हो।
गत शनिबार दिउँसो हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्रामा दुई फरक धार्मिक समुदायबीच विवाद र झडप भई स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले वीरगन्जमा शनिबार बेलुकीदेखि कर्फ्यु लगाएको थियो। त्यसपछि आइतबार राति १२ बजेदेखि कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो।
शनिबारदेखि तनावपूर्ण बनेको वीरगन्जको अवस्था सामान्य हुँदै गएकाले शुक्रबार बिहान ७ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए। त्यसअघि बिहीबार दिउँसो प्रजिअ अर्यालयसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका नेताहरूसँग वीरगन्जको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका थिए।
पछिल्लो समय वीरगन्जको अवस्था सामान्य बन्दै गएको तथा सर्वसाधारण नागरिकको जीवनयापनलाई मध्यनजर गरेर सहज शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रजिअ अर्यालले बताए। शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियो। उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएका थिए।
शनिबार हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समुहबीच झडप सुरु भएको थियो। त्यसक्रममा छपकैयाका दुईवटा बिरियानी हाउस, केही मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरियो।
बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो, काउण्टर लगायतका सामान सडकमा ल्याएर आगजनी पनि गरिएको थियो। त्यसैक्रममा त्यहाँ ८ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको थियो।