२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

आज २५६९औँ बुद्ध जयन्ती

आज २५६९औँ बुद्ध जयन्ती

सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौं - शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाईंदैछ ।
    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइने गरिन्छ ।
    भगवान विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उहाँले हालको रुपन्देहीको लुम्बिनीमा जन्म लिनुभएको थियो ।
    राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कनुभयो । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्‍याउनुभयो ।
    बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण -मुत्यु_ वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
    उहाँको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाउने गर्छन् ।
    “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रुपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ ।
    बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने कार्यक्रम छ ।

    लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी

     दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।
    दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ ।
    विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ ।
    मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।
    विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।
    आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिए ।
    दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ, भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको भट्टराईले बताए ।
    लुम्बिनी विकास कोषका कोषाध्यक्षसमेत रहेका भट्टराईका अनुसार, बुद्ध जयन्तीको मुख्य समारोह अन्तरराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा  हुनेछ । यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ ।
    लुम्बिनीको यो झकिझकाउले यहाँ आउने हरेक आगन्तुकलाई शान्ति र आनन्दको अनुभूति गराएको प्रतिक्रिया दिएका छन् ।
    यसपटक लुम्बिनीमा जयन्तीका अवसरमा आयोजित कार्यक्रमका लागि एक करोड खर्च हुने अनुमान गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend