पोखरा-शैक्षिक भ्रमणमा रहेका अमन परियारलाई जातिय गालीगलौज गरेको आरोपमा पृथ्वीनारायण क्याम्पस पोखराका व्यवस्थापन अनुसन्धान विभागका विभागिय प्रमुख उपप्राध्यापक डा. देविलाल शर्मालाई क्याम्पसले पदवाट हटाएकोछ ।
व्यवस्थापन संकायअन्तर्गत एमबिए फाइनान्स विषयको शैक्षिक भ्रमणमा सहभागी विद्यार्थीलाई ‘तँ दमैले के गर्न सक्छस्, गर’ भन्दै गालीगलौज गरेको घटना सामाजिक संजालमा सार्वजनिक भए लगत्तै त्यसको चौतर्फि चर्को विरोध भएपछि क्याम्पसले उपप्राध्यापक शर्मालाई जिम्मेवारीबाट हटाएको हो ।
क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले शर्मालाई पठाएको पत्रमा भनिएको छ, ‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ४, दफा १९ बमोजिम ०८२ वैशाख २६ गतेको पत्रानुसार यस क्याम्पसअन्तर्गत व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख पदमा नियुक्ति गरिएकोमा विशेष परिस्थितिका कारण तपाईंलाई उक्त पदको जिम्मेवारीबाट हटाइएको व्यहोरा जानकारी गराइन्छ ।’
घटना गत शैक्षिक अवलोकन भ्रमणका क्रममा भएको हो । विषय शिक्षक डा. शर्मा, राजेन्द्र सुवेदी र ध्रुवकुमार बुढाथोकीको नेतृत्वमा गएको उक्त भ्रमणमा उपप्राध्यापक शर्माले विद्यार्थी अमन परियारमाथि जातीय रुपमा अपमान गरेका थिए । ‘दमैको लेडो, जात नभएको, दमैले जात जनायो, विशाल दमैको संगतले दमैनै भयो, तँ दमै के गर्न सक्छस्, गर’ जस्ता अभद्र शब्द प्रयोग गरिएको पीडित परियारले बताएका छन् ।
पीडित विद्यार्थीले आपत्ति जनाउँदा शर्माले थप धम्कीसमेत दिएका थिए । ‘शैक्षिक प्रमाणपत्र पोखरामा नबिक्ने, पोखराबाट नै गायब गर्छु, लोकसेवाको कपी मैले जाँच्ने हो, तलाई जान्या छु, एनक्यु (नन ग्रेड) लगाएर तलाईं कहीँ न कतैको बनाइदिन्छु’ भन्ने धम्की दिइएको परियारको भनाइ छ ।
घटनापछि दलित विद्यार्थी संघसहित विभिन्न पक्षले विरोध जनाएका छन् । दलित विद्यार्थी संघका अध्यक्ष अमृत विकले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पटक–पटक क्याम्पस प्रशासन तथा कर्मचारीद्वारा विद्यार्थीप्रति गरिने जातीय अपहेलनाका घटनामा हामी चुप बस्दैनौं । क्याम्पसजस्तो शैक्षिक स्थलमा प्राध्यापकहरूबाट नै जातीय विभेद हुनु आपत्तिजनक हो ।
यस्तो घटना पृथ्वीनारायण क्याम्पसमा पहिलो होइन ।’ विरोध चुलिएपछि क्याम्पस प्रशासनले डा। शर्मालाई जिम्मेवारीबाट हटाएको हो ।