मस्को - रुसको सुदूरपूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोभियत संघमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जंगलमा खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिएको भिडियोहरू रूसी सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन् । सरकारी सञ्चारमाध्यम र अनुसन्धानकर्ताले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा जीवित व्यक्तिको कुनै संकेत नपाइएको देखाइएको छ । अंगारा एयरलाइन्सको विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डा शहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ बजे राडारसँग सम्पर्कविच्छेद भएको थियो ।
एक उद्धार हेलिकप्टरले टिन्डा विमानस्थलबाट करिब १५ किलोमिटर दक्षिणमा रहेको जंगली पहाडको ढलानमा विमानको जलिरहेको भग्नावशेष फेला परेको थियो । रुसी अन्वेषकहरूले सार्वजनिक गरेको भिडियोमा दुर्घटनास्थलबाट धुवाँ उठिरहेको र जंगलको भुइँमा छरिएको विमानका टुक्राहरू देखिएको छ ।
सरकारी समाचार संस्था तासका अनुसार दुर्घटना भएको केही घण्टापछि मात्र खोजी तथा उद्धार टोली घटनास्थल पुगेको थियो र त्यहाँ कोही पनि जीवित रहेको कुनै प्रमाण फेला परेको थिएन । अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारण भने खुलाएका छैनन् ।
अंगारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सेर्गेई सलामनोभले रुसको आरईएन टिभी च्यानललाई बताएअनुसार घटनाको समयमा मौसम खराब थियो तर विमानचालक (क्याप्टेन)ले उडान गर्ने निर्णय गरेका थिए ।
करिब ३०,००० मानिसको बसोबास रहेको टिन्डा चिनियाँ सीमाबाट करिब २०० किलोमिटर ९१२५ माइल टाढा घना ताइगा जंगलमा अवस्थित छ ।
विमानमा कम्तीमा एक जना चिनियाँ नागरिक रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
– विमानले ‘दोस्रो अवतरण’ को प्रयास गरेको थियो –
उक्त क्षेत्रका गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा ४३ जना यात्रु र छ जना चालक दलका सदस्य थिए । यात्रुमध्ये पाँच जना बालबालिका थिए ।
रूसको राज्य समाचार एजेन्सी तासले आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै विमानमा ४० यात्रु र छ चालक दल रहेको बताएको छ ।
टिन्डा विमानस्थलमा दोस्रो पटक पुग्ने प्रयास गर्दा विमान दुर्घटना भएको रुसको सुदूर पूर्वी यातायात अभियोजकको कार्यालयले जनाएको छ ।
“टिन्डा विमानस्थलमा पुग्दा विमानले दोस्रो अवतरणका लागि घुम्यो, त्यसपछि सम्पर्क टुटेको थियो”, अभियोजक कार्यालयले भन्यो, “परिस्थितिहरूको अनुसन्धान भइरहेको छ ।”
यसले दुर्घटनाको कारणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।
राज्य समाचार एजेन्सी तासले यो विमान झण्डै ५० वर्ष पहिले निर्माण गरिएको रिपोर्ट गरेको छ ।
“सन् २०२१ मा विमानको उडान योग्यता प्रमाणपत्र सन् २०३६ सम्म बढाइएको थियो”, उड्डयन सेवाका स्रोतलाई उद्धृत गर्दै यसले रिपोर्ट गरेको छ ।
एन्टोनोभ–२४ एक लोकप्रिय, सोभियत–डिजाइन गरिएको दुई प्रोपेलर विमान हो । यसले पहिलो पटक सन् १९५९ मा सेवा सुरु गरेको थियो ।
रूसले हालका वर्षहरूमा सोभियत विमानबाट आधुनिक जेटहरूमा स्विच गर्ने कदमहरू चालेको छ, तर पुराना हल्का विमानहरू अझै पनि दुर्गम क्षेत्रहरूमा व्यापक रूपमा प्रयोग हुन्छन् र दुर्घटनाहरू बारम्बार हुन्छन् ।