झापा – झापाको बिर्तामोडस्थित गिरीबन्धु टी-इस्टेट नजिकै शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवाको ज्यान गएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड-६ मा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
साँझ ५.३० बजे चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल सडकमा पल्टिएको थियो।
दुर्घटनामा परी भद्रपुर-५ का २५ वर्षीय भुपाल अधिकारी र नाम नखुलेका अर्का एक करिब २५ वर्षीय युवक गम्भीर घाइते भएका थिए। उनीहरूको अनुहार, मुख र शरीरका विभिन्न भित्री भागमा गम्भीर चोट लागेको थियो।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरेका थिए। मृतकहरूको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र पहिचान नखुलेका अर्का मृतकको सनाखत गर्ने प्रयास भइरहेको जानकारी दिएको छ।