२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

किवीवाट मनग्ये कमाई

किवीवाट मनग्ये कमाई

बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२

  • काठमाडौं-कुनै समय बजारमा किवी देख्दा धेरैले प्रश्न गर्थे — यो के हो? कसैले आलुसँग तुलना गर्थे, कसैले चाखेर अमिलो रहेछ भन्दै नकिनी फर्किन्थे।

    विदेशबाट मात्र आउने, महँगो र सीमित उपभोक्ताले मात्रै फल मान्ने किवी अहिले भने काठमाडौंका सामान्य फलफूल पसलदेखि होटलका सलाद प्लेटमा सहजै भेटिन थालेको छ।
    अझ महत्त्वपूर्ण कुरा के भने, अहिले आयातीत किवीको मात्र होइन, स्वदेशी उत्पादनको पनि बजार बढ्दो छ। त्यसैले सुरूआती चरणमा महँगो मात्र पाइने किवी सस्तो पनि पाइन थालेको छ।
    नेपालमा चीन, इरान र भारत लगायत देशबाट किवी आयात हुँदै आएको छ।
    सामान्यतया आयातीत किवी प्रतिकिलो ४ सयदेखि ६ सय रूपैयाँ किलोसम्म पर्छ।
    महँगो मूल्यमा बिक्ने भएकैले यहाँका किसान प्रेरित भएर किवी खेतीतर्फ लागेको हुन सक्ने नेपाल फलफूल व्यवसायी महासंघका कोषाध्यक्ष दीपक गिरीले बताए। उनी काठमाडौंको कुलेश्वरमा १९ वर्षदेखि फलफूल व्यवसाय गर्दै आएका छन्।
    पहिले यहाँ उत्पादन नै थिएन भन्दा हुन्छ। अहिले चार महिना त स्वदेशी उत्पादनले नै धान्छ,उनले भने,स्वदेशी उत्पादन आउँदा विदेशी बिक्दैन। स्वदेशी किवी किलोको डेढ सयदेखि २ सय रूपैयाँसम्म पर्छ।
    स्वदेशी किवी सस्तो र गुणस्तरीय भएकाले उपभोक्ताको आकर्षण बढेको छ।
    पहिले यो के हो, आलु हो कि के हो भनेर सोध्थे। हामी काटेर चखाउँथ्यौ र बेच्ने प्रयास गर्थ्यौं, उनले सुनाए, अहिले सबैले चिनेका छन्। उत्पादन र बजार राम्रो भएकैले कुनै बेला महँगो र सहरी फल मानिने किवी अहिले सबै वर्गका उपभोक्ताले सहजै किनेर खान सक्ने अवस्थामा पुगेको छ।ु

    उनका अनुसार हामीकहाँ किवीको सिजन कात्तिक अन्तिमतिरबाट सुरू भई फागुनसम्म चल्छ। उत्पादन ठाउँ अनुसार ढिलो–चाँडो गरी किसानले बजारमा ल्याउँछन्। नजिकका बजारमा बोटबाट टिपेकै दिन पुग्छ भने काठमाडौं आउन एकदेखि दुई दिन लाग्छ।

    हाम्रो भौगोलिक कारणले किसानलाई चुनौती छ। चरा र बाँदरले बढी दुःख दिने ठाउँको किवी छिट्टै बजारमा आउँछ,- उनले भने। अहिले किवीको मुख्य आपूर्ति सिन्धुपाल्चोक (हेलम्बू), दोलखा र इलामबाट हुन्छ। त्यसबाहेक झापा, बागलुङ, मकवानपुर (हेटौंडा) काभ्रेपलाञ्चोक र सिन्धुलीबाट पनि थोरै परिमाणमा आइरहेको छ।

    हामीकहाँ व्यावसायिक रूपमा किवी खेती कहिलेदेखि भयो भन्ने यकिन तथ्यांक नभए पनि पाँच–सात वर्षदेखि भने बजार धान्ने परिमाणमा हुन थालेको दीपकले भने।

    पहिले काभ्रे, दोलखातिरबाट फाट्टफुट्ट आउँथ्यो। ठूलो परिमाणमा भने विदेशबाटै आयात गरेर बेच्थ्यौं,-उनले भने।

    अहिले बजारमा रेड, गोल्डेन, हेवार्ड र एलिफेन्ट गरी चार जातका किवी आउँछन्।

    परिमाणका आधारमा हेवार्ड र एलिफेन्ट बढी उत्पादन हुन्छ। रेड र गोल्डेन किवीको उत्पादन कम हुने भएकाले मूल्य पनि महँगो हुन्छ।

    सुरूमा रेड र गोल्डेन जातको किवी आउँछ। मूल्य महँगो पनि हुन्छ, दीपकले भने, त्यो सकिएपछि अन्य जातका आउन थाल्छन्।

    हेवार्ड जातको किवी गोलो, ठूलो र आकर्षक हुन्छ। यसले बजारमा राम्रो मूल्य पाउँछ। एलिफेन्ट जातको किवी लाम्चो र सानो आकारको हुन्छ र मूल्य पनि कम हुन्छ।

    पछिल्ला वर्षमा भित्र रातो हुने रेड किवी र भित्र सुनौलो हुने गोल्डेन किवीको माग तीव्र बढेको दीपकले बताए।

    पहिले एलिफेन्ट किवी बढी चले पनि उपभोक्ताको रूचि परिवर्तन भएको उनको भनाइ छ। मूल्य बढी पाइने भएकाले किसानलाई पनि रेड र गोल्डेन जातको किवी लगाउन सुझाव दिने गरेको उनले बताए।

    फाइदा हुने कुरामा किसान आफै अघि बढ्छन्। यसको खेतीप्रति किसानको चासो बढेको छ-उनले सुनाए, हामीलाई कुन जातको लगाउँदा राम्रो हुन्छ भनेर धेरैले सोध्छन्।

    सुरूमा किवीको बिउ नेपालमा उत्पादन हुँदैन थियो। बाहिरबाटै आयात गर्नुपर्थ्यो। अहिले किसान र स्थानीय तहको सहकार्यमा बिउ यहीँ उत्पादन हुन थालेको छ।

    किवीको उत्पादन बढेसँगै माग पनि बढेको छ। स्वदेशी उत्पादन खानुपर्छ भन्ने उपभोक्तामा चेतना बढ्नु र व्यवसायीले पनि स्वदेशी किवीलाई प्राथमिकता दिनुले बजार विस्तार हुँदै गएको हो।

    विषादी प्रयोग नगरी उत्पादन गर्न सकिने भएकाले यसको लागत पनि तुलनात्मक रूपमा कम पर्ने दीपक बताउँछन्। त्यस्तै धेरै मेहनत पनि नपर्ने भएकाले किसानका लागि किवी आकर्षक बन्दै गएको उनको अनुमान छ।

    य‍सबाहेक किवीको उपभोग अहिले फलका रूपमा मात्र सीमित छैन, यसको जाम पाइन्छ। सुकाएर ड्राइड किवी पनि बिक्न थालेको छ।

    तर हामीकहाँ किवीका लागि पर्याप्त कोल्डस्टोर छैन। किवी अरू फलफूलसँगै राख्न पनि मिल्दैन।

    भण्डारण गर्न सकिन्थ्यो भने अफ–सिजनमा पनि किवी बेचेर राम्रो मूल्य लिन सकिन्थ्यो, दीपकले भने, केही ठाउँमा किसान र स्थानीय तहको सहकार्यमा कोल्डस्टोर निर्माणको प्रयास भइरहेको भन्ने सुनिन्छ।

    स्वदेशी किवीलाई आयातीतसँग प्रतिस्पर्धी बनाउन ग्रेडिङ गर्नुपर्ने आवश्यकता उनले देखेका छन्। विदेशबाट किवी ग्रेडिङ भएर आउने भएकाले उच्च मूल्य पाउँछ। स्वदेशी भने सोझै बजार पुग्ने भएकाले गुणस्तरीय हुँदाहुँदै पनि मूल्य कम पाउँछ।

    आयातीत किवी सबै एकै आकारका हुन्छन्। हाम्रोमा त ग्रेडिङ सिस्टम नै छैन। साइज र ग्रेडिङबिनै सालाखाला बजार पठाउँदा धेरै मूल्य आउँदैन, उनले भने।

    हाल किवीको मूल्य किसान र व्यापारीबीचको सहमतिमा निर्धारण हुने गरेको छ। किलोका हिसाबले बेच्ने किसानले नगद पाउँछन् भने बिक्रीको आधारमा मूल्य तोक्नेले बिक्रीपछि मूल्य पाउँछन्।

    अर्को समस्या भनेको, हामीकहाँ किवी विभिन्न ठाउँमा थोरैथोरै उत्पादन हुन्छ। पकेट क्षेत्र छैन। थोरै थोरै उत्पादन संकलन र ढुवानीमा खर्चिलो हुनुका साथै समस्या हुन्छ।

    हामी व्यवसायीलाई साना किसानले पनि आफ्नो पनि किवी लिइदिनू भनेर आग्रह गर्छन्। एक जनाले मात्र ल्याउँदा भाडा नै महँगो पर्छ। त्यसैले तीन–चार जना मिलेर ल्याउनू भन्छौं, दीपकले भने,यस्ता समस्या नहुने हो भने किवीबाट निकै फाइदा लिन सकिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend