सिन्धुली- सासु र नन्दले मिलेर ३२ बर्षिया सुशिला बम्जनलाई आगोले जलाएर हत्या गरेको विषयले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार कर्फ्यु आदेश जारी गरेको छ। बेलुका ८ बजेबाट शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।
सिन्धुलीको कमलामाई नगरपालिका ४ धुराफाँटमा ३२ वर्षीया सुशीला बम्जनलाई आफ्नै सासु, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको विषयलाई लिएर आफन्त र स्थानीय पाँच दिनदेखि आक्रोशित बनेपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ का दफा ६ (क) बमोजिम कफर्यू आदेश जारी गरेकी हुन्। सुशीलाको हत्या भएको घटनालाई लिएर स्थानियबासीबाट ढुङ्गमुढा प्रहार तथा हुलदंगा लगायतका गतिविधि हुँदा जिल्लाको शान्ति सुरक्षा व्यवस्थामा खलल पुग्ने देखिएकाले पुस १० गते राति ८.३० देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको बताइएको छ।
कमलामाई नगरपालिका ४ भित्रको पूर्वमा ग्वाङखोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोकसम्म निषेधित क्षेत्र तोकिएको छ। ती स्थानमा सर्वसाधरण तथा अत्यावश्यक बाहेकका सवारी साधन आवतजावतमा रोक लगाइएको छ। त्यस्तै कुनै पनि किसिमको भेला, जुलुस र भेलाजन्य कार्य नगर्न र पाँच जनभन्दा बढी मानिस भेला नहुन आदेशमा भनिएको छ।
कमलामाई नगरपालिका ४ धुराफाँटमा गत आइबार दिउँसो ३२ वर्षिया सुशीला घिसिङ बम्जनको हत्या गरिएको थियो। आइतबार दिउँसो करिब साढे ४ बजे साढे दुई तला घरको विचको तलाको भान्सा कोठामा बम्जनालाई उनकै सासु वर्ष ५९ की मायारानी बम्जन र नन्द वर्ष ३५ की मीना लामा बम्जनले सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी अनुसन्धान गरिरहेको छ।