काठमाडौं- देशका केही स्थानमा भोलि (आइतबार) वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
“भोलि कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ,” मौसमविद् विनु महर्जन भन्छिन्, “हल्का वर्षा हुने हो, ठूलो पानी पर्ने सम्भावना छैन ।”
यसैबीच, आज भने आंशिक बदली हुनेछ । दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
“आज राति गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा पनि हल्का हिमपातको सम्भावना छ,” मौसमविद् महर्जनले भनिन् । भारी हिमपातको सम्भावना नरहेको उनले प्रष्ट पारिन् ।
काठमाडौंमा आज बिहान ४ः४५ बजेको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् महर्जनले जानकारी दिइन् ।