सिमरा- प्रहरीले बाराको सिम्रौनगढबाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बोरामा लुकाएर ६४ किलो गाँजा भारततर्फ लगिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-३ नयकाटोलका ४० वर्षीय राजकिशोर हजार र भारत मोतिहारीका ५० वर्षीय सुरेश नामका एक व्यक्ति रहेका छन्। इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह र प्रहरी चौकी अमृतगञ्जखजानीबाट प्रहरी सहायक निरीक्षक विश्वराजप्रसाद कुशवाहाको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूलाई सिम्रौनगढ नगरपालिका-३ बडपुरवास्थित गगनानगरबाट नयाकाटोल जाँदै गरेका बेला पक्राउ गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिए। प्रहरीले उनीहरूको साथबाट चार बोरा गाँजा बरामद गरेको छ।