२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

वाल्डो क्यासिनोका सञ्चालक पक्राउ

वाल्डो क्यासिनोका सञ्चालक पक्राउ

आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौँ-ठमेलस्थित वाल्डो क्यासिनोका सञ्चालक पक्राउ परेका छन्। भारतीय समूहले उक्त क्यासिनोमा चुम्बक जडित तास र तासलाई बाहिरबाटै पढ्न सकिने लेन्स आँखामा लगाएर खेल्दै ठगी गरेको आरोप छ। 

    सोही कसूरमा क्यासिनो सञ्चालक तिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। उनलाई आइतबार म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ। 

    यसअघि एक साताअघि  छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाइरहेको आरोपमा प्रहरीले छापा मारेर  जनालाई पक्राउ गरेको थियो । करिब १ हप्ता अघि गरिएको छापामा भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश बर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका हुन्।
    प्रहरी स्रोतका अनुसार क्यासिनोमा ‘इभेन्ट’ को नाममा सेटिङ मिलाएर जुवा खेलाउने गरिएको थियो। छापाका क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण, लेन्सलगायत सामग्री बरामद गरिएको छ।
    पक्राउ परेका मुख्य नाइके सुरेश महाजन भारतीय नागरिक हुन्। उनको विवरणअनुसार सुरेश महाजन, उमेर ५७ वर्ष, बुवा सतपाल महाजन, राष्ट्रियता भारतीय हो। उनी ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एण्ड महाकाय ग्रुप’ का संचालक हुन्। उनको स्थायी ठेगाना दिल्लीको रोहिणी सेक्टर–१७, पोकेट ए, ब्लक–२ स्थित घर नम्बरको १५ औं फ्लोर रहेको खुलेको छ।
    अनुसन्धानका क्रममा सुरेश महाजनले दिल्लीस्थित रोहिणी क्षेत्रमा विगत १८–२० वर्षदेखि घरजग्गा किनबेच सम्बन्धी ‘महाकाया हाईस्टेक प्रा।लि’ नामक कम्पनी सञ्चालन गर्दै आएको र साथै क्यासिनो बीपी एण्ड महाकाय ग्रुप पनि सञ्चालन गर्दै आएको खुलेको छ।
    उक्त ग्रुपले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियालगायत देशहरूमा क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।
    नेपालमा भने सुरेश महाजनले विनोद भन्ने जनार्दन उप्रेती र उचत उप्रेतीसँग मिलेर क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएको खुलेको छ। काठमाडौं बाहेक अन्य स्थानमा इभेन्ट सञ्चालन नगरेको र विशेष गरी क्यासिनो प्राइडमा इभेन्ट सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
    जेनजी आन्दोलनका क्रममा क्यासिनो प्राइडमा क्षति भएपछि पहिलो पटक वाल्डो क्यासिनोमा मंसिर २५ देखि २८ गतेसम्म इभेन्ट सञ्चालन गर्ने योजना अनुसार सुरेश महाजन मंसिर २४ गते भारतबाट नेपाल आएका थिए।
    बीपी एण्ड महाकाय ग्रुप अन्तर्गत क्यासिनो प्लेयर्स मंसिर २५ गते मात्र करिब ७० जना नेपाल आएका थिए भने सो ग्रुपद्वारा सञ्चालन गरिएको इभेन्टमा अन्य ग्रुपहरू समेत सामेल हुँदा जम्मा करिब २०० जना भारतबाट नेपाल आएको खुलेको छ।
    उनीहरूका लागि होटल अलफ्ट र होटल मेरियटमा करिब ८० वटा कोठा बुक गरिएको र सबैको टिकट, खाना र बसोबासको सम्पूर्ण व्यवस्था सुरेश महाजनले मिलाएको प्रहरीले जनाएको छ।
    सुरेश महाजनसहित मोनो सचदौवा भन्ने निरज कुमार, गौरव खत्री, दिनेश बर्मा, विक्रम सिंह र प्रमोद मोरिया मंसिर २४ गते काठमाडौं आइपुगेका थिए।
    क्यासिनो वाल्डोमा इभेन्ट सञ्चालन गर्न ७ देखि १० वटा टेबलमा ‘इन्डियन फलास’ खेलाउने गरी सम्झौता गरिएको थियो, जुन एग्रीमेन्ट विनोद भन्ने जनार्दन उप्रेतीले गरेको खुलेको छ।
    प्रहरीले अवैध जुवा सञ्चालन, विदेशी नागरिक संलग्नता, क्यासिनो नियम उल्लङ्घन तथा आर्थिक कारोबारको विषयमा ठगी सम्बन्धि मुद्दा चलाएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
    यद्यपि काठमाडौं प्रहरीले औपचारिक रुपमा यसबारे जानकारी नदिएकाले घटना मिलाउन मोटो रकमको चलखेल भैरहेको आशङ्का गरिएको छ। प्रहरी प्रशासनलाई प्रभावमा पारेर क्यासिनो र पक्राउ परेकाहरुलाई छुटाउन केही विचौलिया लागि परेका हुन्। हामीले काठमाडौं प्रहरी परिसरका प्रवक्तालाई बुझ्दा पनि उनले जानकारी दिन नमिल्ने बताउँदै कार्यालयमै आउन आग्रह गरे।
    अतः काठमाडौं प्रहरी परिसर, जिल्ला सरकारी वकिलको कार्यालय लगायतका सेटिङ गर्ने भन्दै केही विचौलियाले करोडौंको डिल गरिरहेको उच्च स्रोतको दाबी छ। सोही कारण प्रहरीले पनि घटनाबारे सूचना निकै गोप्य राखेको हो।
    वाल्डो त्यहीँ क्यासिनो हो, जो निकै विवादित मानिन्छ। केही समय पहिला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ६१ किलो सुन तस्करी प्रकरणमा वाल्डो क्यासिनोका सञ्चालक, म्यानेजरलाई समेत पक्राउ गरेको थियो।
    वाल्डोको आडमा सुन तस्करी गिरोह चलाउने र अवैध आर्थिक कारोबार गर्ने एवं सेटिङमा जुवा खेलाउने गर्दा सो क्यासिनो निकै बदनाम बनेको हो।
    तर क्यासिनोले सेटिङमा जुवा खेल्नका लागि नेपालीको नक्कली आइडी बनाउने, पैसा जम्मा गर्ने तर त्यो पैसा जुवा नखेली हङकङमा रहेको अर्को क्यासिनोबाट निकाल्ने गरेको पनि भेटिएको थियो। सो क्यासिनो चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend