२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रास्वपाको समानुपातिक उम्मेदवारको बन्द सूचीमा शहीद रसिककी आमा

रास्वपाको समानुपातिक उम्मेदवारको बन्द सूचीमा शहीद रसिककी आमा

मंगलवार, पौष १५ २०८२
मंगलवार, पौष १५ २०८२
  • काठमाडौँ - गत भदौ २३ गतेको जेन–जी आन्दोलनमा काभ्रेका २३ वर्षीय रसिक खतिवडा सहिद हुन पुगे। सहिद छोराको न्यायका निम्ति आमा रचनाले आजसम्म निरन्तर आवाज उठाउँदै आएकी छन्। सडकदेखि सिंहदरबार र बालुवाटारसम्म उनका पाइला न्यायको खोजीमै अघि बढिरहेका छन्।
    मंगलबार बिहान रचनालाई आफन्त र शुभेच्छुकहरूको फोन उठाउन भ्याइ–नभ्याइ भयो। फोनमार्फत सबैले बधाई दिँदै भने, -छोराहरूको सपना पूरा गर्नुहोला ।
    अचानक आएका बधाईका शब्दले रचना अचम्ममा परिन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा समेटेको रहेछ। उनी खस–आर्य महिला क्लस्टरबाट नवौं नम्बरमा सूचीबद्ध छिन्।  रचनाले भनिन्, खबर थाहा पाउँदा अचम्म पनि लाग्यो, खुसी पनि।
    सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएलगत्तै रास्वपा सभापति रवि लामिछाने जेन–जी आन्दोलनका सहिद परिवारलाई भेट्न बबरमहल पुगेका थिए। त्यतिबेला उनले रसिककी आमाको कारुणिक कथा सुनेका थिए। उहाँले मेरा भिडियोहरू पनि हेर्नुभयो। मेरो कुरा सुनेर रुनु पनि भयो,- रचनाले सुनाइन्। त्यसपछि रास्वपाबाट उनीसँग निरन्तर सम्पर्क भइरहेको थियो। समानुपातिक सूचीमा नाम राख्ने विषयमा पनि उनीसँग छलफल भएको थियो। उहाँहरूले मसँग कागजातहरू मागिरहनुभएको थियो, मैले पठाएकी थिएँ,- उनले भनिन्।
    यो अवसरलाई ऊर्जा बनाएर सहिदको सपना पूरा गर्न प्रयोग गर्ने बताउँदै रचनाले भनिन्, -हामीले पहिले पुरानोलाई भोट दिएकै हो, जिताएकै हो। उहाँहरूलाई जिताएर हाम्रै बच्चा मारिदिनुभयो। अब नयाँलाई साथ दिऊँ। यदि म त्यहाँ पुगेँ भने दुई शब्द बोल्न त पाउँछु, सुनुवाइ त हुन्छ।
    भदौ २३ गते बिहान रसिक खाँदाखाँदैको गाँस छाडेर आन्दोलनमा होमिएका थिए। बिहान आन्दोलनमा गएको छोराको बाटो आमाले साँझसम्म कुरिरहेकी थिइन्। अष्ट्रेलियामा रहेकी छोरीले बेलुका भाइलाई गोली लागेको भिडियो नपठाउन्जेल उनी बेखबर नै थिइन्। छोरालाई गोली लागेको थाहा पाउनासाथ उनी रुँदै–याचना गर्दै अस्पताल–अस्पताल धाइन्। त्रिवि शिक्षण अस्पतालमा भोलिपल्ट छोराको शव देखेपछि उनी केही दिन अचेत अवस्थामा रहिन्।
    अहिले पनि त्यो सद्माबाट उनी पूर्ण रूपमा निस्कन सकेकी छैनन्। छोरा सम्झेर बोल्दाबोल्दै उनका आँखाबाट आँसु बगिरहन्छ। रसिक पनि अष्ट्रेलिया जाने तयारीमा थिए। उनी ठमेलस्थित सानिमा रेस्टुरेन्टमा काम सिकिरहेका थिए। रसिकको मृत्युको केही हप्तापछि उनको अष्ट्रेलियाको भिसा लागेको जानकारीसमेत आएको थियो।
    यदि आफू संसदमा पुगेमा आफूजस्तै आमाहरूको आँसुको मूल्य खोज्ने रचनाको भनाइ छ। त्यहाँ गएपछि मेरा छोराहरूले जुन विषय उठाउँदा गोली खाएका थिए, त्यही विषय उठाउने हो। उनीहरूको सपना पूरा गर्ने हो,- रचनाले भनिन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend