२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

शशस्त्र प्रहरीले रिक्सा चालकको हत्या गरेपछि शव राजमार्गमा राखेर प्रर्दशन

शशस्त्र प्रहरीले रिक्सा चालकको हत्या गरेपछि शव राजमार्गमा राखेर प्रर्दशन

बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • सुनसरी – भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै बिहीवार राति तीन वटा रिक्सा २ वटा अटो रिक्सा, १ वटा ई–रिक्सा अघि बढ्दै थिए । लौकहीमा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारको कमाण्डमा पाँच जना ड्युटीमै थिए । ती अटो रिक्साहरूमा भन्सार छलेर भारतबाट अवैध सामानहरू नेपाल ल्याइएको भन्ने सूचना सशस्त्र प्रहरीले पायो ।
    मध्यराति सडकमा सशस्त्र प्रहरीको उपस्थिति देखेपछि तस्करीको सामान ल्याउँदै गरेका रिक्साहरू भाग्न खोजे । सशस्त्र प्रहरीले पिछा गर्‍यो । जवाफमा तस्करीको समान ल्याएका तीन वटा रिक्सामध्ये एक रिक्साबाट गोली चल्यो । तस्करको समूहबाट मध्यराति गोली चलेपछि सुरक्षाकर्मीले असुरक्षित महसुस गरे । आत्मरक्षाका लागि जवाफी फायर गर्दा दुर्घटना भयो । सुनसरी घटनाबारे जानकारी लिँदा कोशी प्रदेशको बराह बाहिनी पोकलीका प्रमुख तथा डीआईजी कुमार न्यौपाने यी नै दलिलहरू गरे ।
    ‘उताबाट सुरुमा फायर भयो । कसैलाई लागेन, केही भएन । यताबाट आत्मरक्षाका लागि जवाफी फायर गर्दा दुर्घटना भयो,’ न्यौपानेले दाबी गरे ।  उनले हतियार बरामद नभएको जवाफ दिँदै भने, ‘फायर गर्ने भागी हाले । अनि हतियार बरामद हुने अवस्था रहेन ।’
    मध्यराति सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भयो । सशस्त्रले दुर्घटना भनेको यो प्रकरणमा मारिएका साह अटो रिक्सा चालक हुन् । उनलाई समान बोक्नका लागि कसैले भाडामा रिक्सा लगेको हुनुपर्ने बताइएको छ ।
    सीमा नाका हुँदै कानुनीदेखि गैरकानुनी व्यापार पनि हुँदै आएको छ । यी दुवैको संरक्षणकर्ता सशस्त्र प्रहरी नै रहेको विश्लेषक चन्द्रकिशोर बताउँछन् ।
    सशस्त्रले तस्करको समूहले गोली चलाएको दाबी गरे पनि यसको यकिन पुष्टि भने भएको छैन । आफ्नो गल्तीलाई छोप्न अर्को पक्षको गल्ती देखाएर चोख्याउन खोजेको आरोप स्थानीयले लगाएका छन् ।
    अनावश्क रूपमा गोली चलाइएको, त्यो पनि लापरबाही तरिकाले गोली चलाउँदा छातीमै लागेको भन्दै सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।
    तस्करीको १० बोरा चिनी नियन्त्रणमा लिन सशस्त्रले जुन किसिमको बल प्रयोग गरेको त्यो आवश्यक नरहेको बताइन्छ ।
    घटनापछि तनावग्रस्त बनेको सुनसरीमा सडकमै शव राखेर स्थानीयले प्रदर्शन गरेका थिए । स्थानीय सशस्त्र प्रहरीको बिट तोडफोड गर्नेदेखि बोर्डर आउट पोस्ट बीओपीमा समेत आक्रमण गरे ।
    स्थिति नियन्त्रणमा केही सेल अश्रु ग्यास समेत प्रहार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरे बताउँछन् ।
    उनका अनुसार मध्यराति घटना हुँदा त्यहाँ नेपाल प्रहरी उपस्थित थिएन । घटना भइसकेपछि मात्रै खबर गरेपछि प्रहरी पुगेको थियो । घटनास्थलबाट गोलीका दुई वटा खोका बरामद भएका छन् ।
    सुनसरीको लौकही गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर विजय साहको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। घटनाप्रति आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन् ।  गोली चलाउने  प्रहरीलाई तत्काल कारबाहीको माग उनिहरुले गरेका छन्।
    स्थानीयको प्रदर्शनका कारण सो क्षेत्र हुँदै जाने मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रदर्शनकारीहरूले “निर्दोषको हत्या बन्द गर”, “निष्पक्ष छानबिन गर” लगायतका नाराबाजी गरिरहेका छन्। राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरू लामो समयदेखि रोकिएका छन्। यस्तै प्रदर्शनकारीले स्थानीय प्रहरी बिट समेत तोडफोड गरेको छ।

    sunsari.jpg
    सेटिङको पैसा नदिँदा गोली हानिएको गम्भीर आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाहीको माग राख्दै पीडितहरु प्रर्दशनमा उत्रिएपछि लौकहीस्थित तनावग्रस्त राजमार्ग । 


    सीमावर्ती क्षेत्रमा तस्करी रोक्ने क्रममा स्थिति तनावग्रस्त बनेपछि क्रस फायरिङको अवस्था सिर्जना भएको प्रहरीले बताएको छ । आत्मरक्षाका लागि चलाइएको गोली लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। घटनापछि थप सुरक्षाकर्मी परिचालन गरी क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।तर स्थानीय बासिन्दाले प्रहरीको दाबी अस्वीकार गर्दै सेटिङको पैसा नदिँदा गोली हानिएको गम्भीर आरोप लगाएका छन्।
    उनीहरूले निष्पक्ष छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही नगरेसम्म शव नउठाउने अडान लिएका छन्।घटनास्थलमा अहिले पनि तनाव कायमै छ। प्रशासनले स्थानीय अगुवा र मृतक परिवारसँग वार्ताको प्रयास गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरेको छ भने घटनाबारे छानबिन सुरु गरिएको जनाएको छ। राजमार्ग खुलाउन प्रयास जारी रहे पनि स्थानीयको अडानका कारण तत्काल समाधान निस्कन सकेको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend