नवलपरासी- निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो ।
एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर पटक पटक म्याद थप पछि बल्ल अहिले पुल निर्माणको काम सकिएको हो ।
कावासोती नगरपालिका–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले पुल नहुँदा बर्षाको बेला बाढी आउँदा सास्ती खेप्नु पर्ने अबस्था भएपनि कावासोती नगरपालिका–३ र ४ जोड्ने केरुङ्गे खोलामा पुल बनेपछि आवतजावतमा सजिलो हुने विश्वास व्यक्त गरे । एक सय ४० मिटर लम्बाइको पुल करिब रु १० करोड ५० लाखको लागतमा निर्माण भएको हो ।
“पुल नहुँदा सास्ती थियो, बाढी आउँदा अन्यत्रबाट घुमेर बजार क्षेत्र निस्किनुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटेको छ, ढिलै भए पनि पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ,” अध्यक्ष लोहनीले भने ।
सडक डिभिजन कार्यालय भरतपुरमार्फत निर्माण भएको पुलले जिल्लाको हुप्सेकोट गाउँपालिकाबाट बासिन्दालाई समेत सदरमुकाम कावासोती पुग्न सहज बनाएको छ । हुप्सेकोटका बासिन्दालाई छिटो रूपमा कावासोतीको सदरमुकाम पुग्न पुलका कारण सहज भएको हुप्सेकोटका स्थानीय रुक्माङ्गत भुर्तेलले बताए ।
“हामीलाई सदरमुकाम पुग्न डण्डा हुँदै घुमेर जानुपर्ने अवस्था थियो, अब हसौराबाट नयाँ पुल हुँदै सिधै कावासोती पुग्न सकिने भएको छ,” भुर्तेलले भने ।