२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

ल्याण्डफिल रोक्न खोज्ने जनतालाई पोखरा ३३ का वडाध्यक्षले खुकुरी देखाए

ल्याण्डफिल रोक्न खोज्ने जनतालाई पोखरा ३३ का वडाध्यक्षले खुकुरी देखाए

शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • पोखरा- प्रस्तावित ल्याण्डफिल साईडको विरोधमा उत्रिएका स्थानीयवासीसँगको विवादले शुक्रवार पोखरा महानगरपालिका वडा नं ३३ को कार्यालय दिनभर तनावग्रस्त बन्न पुग्यो ।  स्थानीयवासी र वडा कार्यालयवीचको विवादको क्रममा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी निकालेर तर्साउँदै धम्क्याएपछि आक्रोशित बनेका स्थानीयवासीले वडाध्यक्षको निजी गाडी तोडफोड गरिदिएका छन । स्थानीय प्रर्दशनकारीहरुले वडा कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । विवाद चर्केर अबस्था तनावग्रस्त बनेपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिएको छ । 
    पोखराको वडा नं ३३ को पुँडिटारमा प्रस्तावित ल्याण्डफिल साइटको विरोधमा स्थानीयवासीले वडा कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला वडाध्यक्ष रामचन्द्र अधिकारीले हातमा खुकुरी लिएर तर्साएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
    कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले वडाध्यक्षलाई सुरक्षा राखिएको जानकारी दिए । खुकुरी प्रदर्शन गरेको घटनाबारे अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।
    यसअघि पनि पोखराको ल्याण्डफिल साईडको विषयलाई लिएर महानगरपालिकाको कार्यालयले वडाध्यक्ष अधिकारीको व्यक्तिगत खातामा ५५ लाख रुपयाँ जम्मा गरिदिएपछि उनी विवादमा परेका थिए । 
    कुनैबेला महानगरपालिकाले नै स्थानीयसँग जग्गा लिन भन्दै वडाध्यक्ष अधिकारीको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ हालिदिएको थियो । महानगरले ०७९ पुष २९ गते एनआईसी एसिया बैंकमा रहेको वडाध्यक्षको व्यक्तिगत खातामा रकम जम्मा गरेको थियो । जग्गा व्यवस्थापनको लागि पेस्कीको व्यहोरा उल्लेख गर्दै महानगरले रकम दिएको थियो ।
    जग्गा प्राप्तिको लागि पेस्की दिने भन्दै वडाध्यक्षको खातामा रकम पठाएको महानगरले जग्गा प्राप्तिको विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएको थिएन ।
    त्यतिबेला वडाध्यक्ष अधिकारीले उक्त रकम जग्गा धनीलाई बैनाको लागि बुझाएको बताएका थिए । पुँडिटार ३३ मा प्रशोधन केन्द्रका लागि महानगरले ९६ रोपनी जग्गा खरिद गर्न लागेको थियो । उक्त जग्गा १७ जनाको नाममा थियो ।
    यही जग्गाको स्वामित्व रोक्का रहेको, महानगरमातहत आइनसकेको र फोहोरमैला व्यवस्थापन कम्पनीसँग महानगरको सम्झौता अघि बढ्न खोज्दा शुक्रबार वडाध्यक्ष अधिकारी फेरि विवादमा आएका छन् ।
    शुक्रबार पोखरा ३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयबासी विरोधमा उत्रिए । स्थानीयलाई थाहै नदिई पोखरा महानगरले निजी कम्पनी छनोट गरी झाँक्रीबगरमा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।
    गत २ मंसिरमा सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका र प्रशोधन केन्द्र निर्माणका लागि छनोट भएको कम्पनी टेरासोल्भ रिनुएबल प्रालिबीच सम्झौता भएको थियो ।
    मंसिर २ गते महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्याल, एमाले दल नेता राधिका शाही, वडा नम्बर ३३ का अध्यक्ष रामचन्द्र अधिकारी, वित्त महाशाखा प्रमुख जयराम पौडेल, कानुन महाशाखा प्रमुख नारायण शर्मा, सिनियर डिभिजन इन्जिनियर विमलरञ्जन कार्कीलगायतले हस्ताक्षर गरेका छन् ।
    सम्झौताअनुसार पोखरा ३३ मा फोहोर प्रशोधन केन्द्र निर्माणका लागि एक महिनाभित्र जग्गा उपलब्ध गराउने भनिएको थियो ।
    पोखरा महानगरपालिकाले ७० रोपनी जग्गा १ महिनाभित्र खरिद गर्न उपलब्ध गराउने र त्यहाँ ८० करोड रुपैयाँ लगानी गरेर प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौता भएको थियो । तर, जग्गा उपलब्ध हुन सकेन । उल्टै प्रशोधन केन्द्र निर्माण गर्ने भनिएको जग्गा आसपासका बासिन्दाको जीवनसँग जोडिएको भन्दै उनीहरूले त्यहाँ निर्माण गर्न नदिने निर्णय नै गरेर महानगरमा ज्ञापनपत्र बुझाए ।
    त्यसपछि लगातार वडा कार्यालय पुगेका स्थानीय प्रस्तावित ठाउँमा फोहोर प्रशोधन केन्द्र बनाउन नदिने भन्दै तालाबन्दी र तोडफोडमा उत्रिएका थिए । स्थानीयको अवरोधकै क्रममा आक्रोशमा आएका वडाध्यक्ष अधिकारी पनि खुकुरी बोकेर निस्किएका थिए ।
    घटनापछि वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वडाध्यक्ष अधिकारीलाई शिशुवा प्रहरी कार्यालयमा ल्याएर स्थिति साम्य पार्न प्रहरीले बल प्रयोग गरेको थियो ।
    स्थानीयवासीले वडा कार्यालयमा तालबन्दी, वडाध्यक्षको गाडी तोडफोड र टायर बालेर नाराबाजी गरेका थिए । स्थिति अनियन्त्रित हुन नदिन पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
    प्रशोधन केन्द्र निर्माण गर्ने भनिएको ठाउँ खेतीयोग्य जमिन रहेको, धार्मिक मठमन्दिर र पानीको स्रोतसमेत रहेको, त्यसको प्रत्येक्ष प्रभाव स्थानीयमा पर्ने भन्दै स्थानीय विरोधमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend