२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस

आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • काठमाडौँ – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ।
    विशेष गरेर सिंहदरबारको मूल गेटअगाडि पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले माल्यार्पण गरे। माल्यार्पणका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, निवर्तमान सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल पुगे।
    नेपाली सेनाले पनि यस दिनलाई विशेष रूपमा मनाएको छ। करिब २८२ वर्षअघि पृथ्वीनारायण शाहले एकीकरण अभियानका क्रममा प्रयोग गरेको गोरखा–काठमाडौँ पदमार्ग पछ्याउँदै सैनिक टोली काठमाडौँ आइपुगेको थियो।
    कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू जनरल प्यारजंग थापा र जनरल राजेन्द्र क्षत्रीले समेत सेनाको प्रतिनिधित्व गर्दै माल्यार्पण गरे।
    पार्टी विशेषका रुपमा राजसंस्थाको वकालत गर्दै आइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कार्यकर्ता शालिकमा माल्यार्पण गर्न पुगेका थिए।
    माल्यार्पणका लागि विभिन्न सामाजिक, साँस्कृतिक र जातीय संस्थाहरू आआफ्नो भेषभूषा र बाजागाजासहित सिंहदरबार पुगेका थिए। त्यसक्रममा पृथ्वीपथको नारा लागेको थियो।
    स्मरण रहोस्, २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार र तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पृथ्वीनारायण शाहलाई ‘एकताका प्रतीक’को दर्जाबाट हटाउँदै उनको जन्मदिनको बिदा कटौती गरेका थिए।
    तर, राप्रपालगायत राजसंस्थासँग आस्थावानको निरन्तरको पहलपछि केही वर्षअघिदेखि पृथ्वीजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा दिन थालेको हो।
    राप्रपाको चियापान र ठूला दलको अनुपस्थिति
    पृथ्वीजयन्तीका अवसरमा राप्रपाले चियापान कार्यक्रम गरेको छ। भृकुटीमण्डपमा एक कार्यक्रम गरी सरकार प्रमुख तथा राजनीतिक दलका नेताहरूलाई निम्ता दिएर चियापान कार्यक्रम गरेको हो।
    चियापानमा प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद्‌का केही सदस्यसँग लिएर आफै उपस्थित भएकी थिइन्। चियापानमा विभिन्न देशका कूटनीतिज्ञ र सर्वसाधारणको उपस्थिति थियो।
    तर चियापानमा नेपाली कांग्रेस, एमाले र नेकपालगायत प्रमुख दलका नेताहरू भने देखिएनन्।
    राप्रपाले पृथ्वीजयन्तीका अवसरमा रक्तदानसमेत गर्‍यो। अध्यक्ष राजेन्द्र लिङ्देनले समेत रक्तदान गरेका थिए। यो उनको ९३ औँ पटकको रक्तदान हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend