काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रमा थापाले सभापति देउवालाई भदौ २५ गते नै आफूहरुले आराम गर्न आग्रह गरेको स्मरण गराए।
उनले पार्टीबाट बिदा भइसकेको अवस्थामा पनि केही नेताको कुरा सुनेर पुनः सक्रिय हुनु उचित नभएको उल्लेख गरे।
सभापति देउवालाई चेतावनीयुक्त भाषामा थापाले भृकुटीमण्डपबाट भने, ‘तपाईंलाई घरमा आएर भेटेर दाइ, यो देशमा प्रजातन्त्रको लागि तपाईंको ठूलो योगदान छ। तर, समय आएको छ, अब तपाईंले छाड्दिनु पर्छ। समय आएको छ, अब तपाईंले आराम गर्नुपर्छ। समय आएको छ, तपाईंले अब मार्गप्रशस्त गर्दिनु पर्छ।’
थापाले विशेष महाधिवेशनले के निर्णय गर्छ भन्ने कुरा निश्चित नभएको उल्लेख गर्दै अझै समय रहेकाले भोलि बिहानको बन्दसत्रमा आउन सभापति देउवालाई आग्रह गरे। घुमाउरो रुपमा थापाले बहुमत प्रतिनिधिहरु आफ्नो पक्षमा भएकोले राजीनामा वा विशेष महाधिवेशन स्वीकार नगरे नेतृत्वबाट हटाउने चेताववी दिए।
थापाले भने, ‘यो महाधिवेशन कहाँ गएर टुंगिन्छ थाहा छैन। केन्द्रीय कमिटीले आयोजना गरेको होइन, तलबाट माग भएको हो। नीति पनि, नेता पनि बदल्ने भनेर विशेष महाधिवेशन माग गरिएको हो। म पनि बोलाएर मात्रै आएको हुँ। महाधिवेशनको हलले जे स्वीकार गर्छ त्यसलाई हामीले मान्नु पर्छ। जहाँ लगेर टुंग्याउनुहुन्छ। हामी मान्छौँ।’
महामन्त्री थापाले देउवाले प्रजातन्त्र र देशका लागि गरेको योगदान धेरै रहेको उल्लेख गरे। सहज रुपमा नेतृत्व हस्तान्त्ररण गरे खराब कामहरु बिर्सिने उनको भनाइ थियो।
‘इतिहासले पछि तपाईंको मूल्याङ्कन गर्दै गर्दा कति खराब कामहरू भए होलान्, त्यसलाई बिर्सने छ। नेपाली समाज यो मानेमा धेरै माथि छ,’ थापाले अगाडि भने, ‘तपाईंलाई सम्झने छ। सुदूरपश्चिमको एउटा गाउँबाट आएर नेपालको प्रजातन्त्रको लागि गरेको तपाईंको संघर्षलाई सम्झने छ। तर, अब तपाईंले छाड्दिनु पर्छ भन्दै गर्दा, हामीलाई राखेर भन्नुभएको होइन ?’
उनले जेन–जी आन्दोलनपछि आफैले सबै कुरा छाडेको होइन ? भन्दै प्रश्न गरे। थापाले देउवालाई भृकुटीमण्डपबाट भने, ‘मैले सबै कुरा छाडेर गएँ भनेर भन्नुभएको होइन ? त्यो गएको दिन कांग्रेस मात्र होइन, कांग्रेसभन्दा बाहिरको मानिसले पनि नेता हुनु त शेरबहादुर देउवाजस्तो भनेको होइन ?’
गगनले आफूले पार्टीका कार्यवाहकदेखि वरिष्ठ नेताहरुलाई नेतृत्व लिन अघि सर्न भने पनि नमानेको उल्लेख गरे। आफूलाई पार्टी सभापति वा प्रधानमन्त्री कुनै पनि पदको लोभ नभएको दाबी गर्दै महाधिवेशनमा छलफल गर्न गरेको आग्रहलाई नेताहरुले अस्वीकार गरेको गुनासो गरे।
‘पार्टीको वरिष्ठ नेतालाई पनि सम्झन चाहन्छु। मैले पार्टीको वरिष्ठ नेताको घरमा विश्वप्रकाश शर्मासँग गएर दुई हात जोडेर भनेको छु, आउनुस् दाइ, यो बेलामा पार्टीलाई नयाँ नेतृत्व चाहिएको छ, बन्ने भए तपाईं बन्नुस्। कार्यवाहक सभापतिको घरमा गएर भनेका छौँ-आउनुस् बन्नुस्,’ थापाले अगाडि भने, ‘एउटा पार्टीको सभापति बन्ने कुरा वा प्रधानमन्त्री बन्ने कुराले लोभ्याएर हामी देशभरिका साथीहरूलाई आह्वान गर्न उभिएको होइन। हामी नागरिकहरूप्रतिको पार्टीको जिम्मेवारी बहन गर्नका निम्ति पार्टीलाई ठीक ठाउँमा उभ्याउनु पर्यो भनेर अधिवेशनको आह्वान गर्ने ठाउँमा पुगेका छौँ। हामीले हाम्रा नेताहरूलाई यो कुरा बुझाउन सकेनौँ भन्ने लाग्छ।’
प्रतिनिधिहरुको संख्या २ हजार ६६२
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या २ हजार ६६२ पुगेको छ । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो । गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर थियो ।
आइतबार विशेष महाधिवेशन उद्घाटनका दिन यो संख्या २ प्रतिशत बढेको छ । दोस्रो विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोख्रेलका अनुसार महाधिवेशन प्रतिनिधिहरुको संख्या बन्दसत्र सुरु हुनुअघिसम्म बढ्न सक्ने छ ।
सचिवालयका अनुसार सोमबार बिहान ८ बजेदेखि नै महाधिवेशन प्रतिनिधि दर्ता प्रक्रिया पुनः सुरु हुने छ । आइतबार दर्ता भएकामध्ये मधेश प्रदेशबाट सबभन्दा बढी ४ सय ४६ जना प्रतिनिधिहरु सहभागी छन् । त्यसपछि बागमतीबाट ४ सय ३२, कोशीबाट ४२५, लुम्बिनीबाट ३९८, गण्डकीबाट २९६, उपत्यकाबाट १७८, सुदूरपश्चिमबाट १५८, कर्णालीबाट १३४ प्रतिनिधि सहभागी छन् भने भ्रातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको जम्मा महाधिवेशन प्रतिनिधि संख्या ४ हजार ७४३ रहेको छ ।