काठमाडौँ - नेपाली कांग्रेसको विशेष महाधिवेशनवाट महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन पारित गरेको छ । थापाले हलभित्र रहेका प्रतिनिधिहरूलाई आफ्नो र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन ताली बजाएर बहुमतका साथ पास गरिदिनसमेत आग्रह गरेपछि हलले सोहि अनुसार प्रतिवेदन पास गरेको हो । प्रतिवेदन पारित भएसँगै बन्द सत्र सकिएको छ ।
महामन्त्री गगन थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको समापन समारोहमा मंगलबार साँझ बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको जिकिर गरे । उनले भने,– ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो ।
आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ । हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन।’
तर कांग्रेसभित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न जरूरी रहेको उनको भनाइ छ । उनले अहिलेको आवश्यकता नै पार्टी समानताको लागि, देशको लागि र बाहिर गाउँमा बसेका आम मानिसका लागि भएको उल्लेख गरे ।
महामन्त्री थापाले बाहिरको हल्लाको पछि आफू नलागेको र प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गरे । उनले भने,– ‘अहिले बाहिर अनेक हल्ला चलाइएको छ । कोही टिकटका लागि कोही भागबण्डाको लागि भनेका छन् तर म हल्लाको पछि लागेको छैन । तपाईंहरू पनि नलाग्नुस् । हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौँ, बाहिरको होइन । विशेष महाधिवेशनबाट विश्व गगनलाई सभापति चाहिएको छैन । नीति र नेतृत्व परिवर्तन चाहिएको छ ।’
उनले यो विशेष महाधिवशेनलाई उपलब्धिपूर्ण तरिकाले टुंग्याउनुपर्नेमा उनले जोड दिए । उनले भने,– ‘तपाईं हामी यति धेरै टाढाबाट आएका छौं । अब हलले एउटा उपलब्धिपूर्ण तरिकारले आफ्नो अधिकार सुनिश्चित गर्न म आग्रह गर्छु ।’
उनले हलभित्र रहेका प्रतिनिधिहरूलाई आफ्नो र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन ताली बजाएर बहुमतका साथ पास गरिदिनसमेत आग्रह गरेका थिए । सोअनुसार बहुमतका साथ प्रतिवेदन पारित भएको छ । योसँगै बन्द सत्र पनि सकिएको छ ।
केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आजको बैठक केहीबेर बसेर स्थगित भएको हो। बैठक बुधबार बिहान ८ बजे बस्ने छ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षसँग छलफल अघि बढाएको छ। आज भएको वार्ताबाट कुनै निष्कर्ष निस्किएको छैन।
अब शीर्ष तहमा वार्ताको तयारी भइरहेको नेताहरूले बताएका छन्। वार्तामा सहमति नजुटे विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने विशेष महाधिवेशन पक्षले बताएको छ।