काठमाडौँ -निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।
२७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो भने शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएको थियो ।
उक्त विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए । गगनको पक्षले आधिकारिकता भएपछि देउवा समूहले विरोध गर्दै नाराबाजी गरेका छन् । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्तसहित अन्य आयुक्तहरू र पदाधिकारीको बैठकले गगन पक्षलाई वैधानिकता दिँदै संस्थापन पक्षलाई जिल्याइदिएको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो।
बिहीबार गगन पक्षले आफ्नो नवनिर्वाचित कार्यसमितिको विवरण आयोगलाई अद्यावधिक गरेको थियो। उता संस्थापन पक्षले पनि नेपाली कांग्रेसको कुनै विशेष महाधिवेशन नराखिएको जिकिर गर्दै गगन पक्षको निर्वाचन र निर्वाचित कार्यसमिति अवैधानिक रहेको जिकिर गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो।
निर्वाचन आयोगको निर्णय ‘षडयन्त्रपूर्ण- खड्का
नेपाली कांग्रेस पार्टीको आधिकारिता गगन थापा पक्षले पाएपछि शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयलाई ‘षडयन्त्रपूर्ण’ भनेको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय अस्वीकार गर्ने चेतावनी दिए।
शुक्रबार साँझ निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्र्दै खड्काले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ गर्ने बताए। ‘१४औँ महाधिवेशनबाट निर्वाचित सभापतिलाई एक पटक पनि सम्पर्क नगरीकन निर्वाचन आयोगले गरेको यो निर्णय प्रक्रियागतरुपमा पनि त्रुटीपूर्ण छ। यो निर्णय षडयन्त्रपूर्ण छ’ खड्काले भने, ‘यसविरुद्ध हामी कानुनी लडाइँ लड्छौँ।’
निर्वाचन आयोगले आजै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षलाई आधिकारिकता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ। निर्वाचन आयोग परिसरमा भेला भएका देउवा पक्षका कार्यकर्ताहरूले अहिले आयोग र सरकारविरुद्ध नाराबाजी गरेका छन्।