२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

उत्खननको १६ औं दिनमा बसमा भेटियो मानव अवशेष

उत्खननको १६ औं दिनमा बसमा भेटियो मानव अवशेष

सोमवार, माघ १३ २०८२
सोमवार, माघ १३ २०८२
  • चितवन - त्रिशुली नदी किनारामा वेपत्ता बस उत्खननको १६ औं दिनमा गणपति डिलक्स बसवाट एउटा मानव अवशेष फेला परेको छ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङबेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको बसबाट मानव अवशेष भेटिएको हो ।  
    बसको बीच भागको सिटबाट एउटा अवशेष फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए । उनले मानव अवशेष बस भेटिएको स्थानबाट चिकित्सकसहितको टोलीले भरतपुर अस्पताल शव गृहमा ल्याइएको बताए । ‘मानव अवशेष भेटिएपछि चितवनबाटै बाँकी प्रक्रिया अघि बढ्छ, थप परीक्षणको प्रक्रियालाई अघि बढाउँछौं’–प्रजिअ अर्यालले भने ।
    सोमबार बसको इन्जिनको भाग टुक्राएर बाहिर निकालिएको छ भने पछाडि र बीच भाग निकाल्न बाँकी छ । बसको बीच भागमा अवशेष भेटिएकाले थप अवशेष हुन सक्ने भएकाले बस निकाल्ने कार्यलाई निरन्तरता दिइने उत्खनन‌मा खटिएका मिलन चेनपुलीका प्रमुख टायर कान्छा नामले परिचित सन्तबहादुर श्रेष्ठले बताए । ‘अब सबै गाडीको भाग छुट्याएर निकाल्छौं, अब धेरै दिन नलाग्न सक्छ’–टायर कान्छाले भने ।
    तनहुँको मिलन चेनपुली कम्पनी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले चेनपुलीको सहायतामा निरन्तर उत्खनन गरिरहेको छ । गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा गाडीको अवशेष फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्यही दिनदेखि बेल्चाको प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालुवा उत्खनन गर्दै अवशेष निकाल्न थालेको थियो ।
    २०८१ असार २८ गते काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर भरतपुर–२९ सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए ।
    दुर्घटनामा परेकामध्ये केहीको मात्रै शव फेला परेको थियो । बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन ९सोनार० तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोर समेत ल्याएको थियो । तर बस फेला पर्न सकेको थिएन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend