नवलपुर – देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यामक विद्यालयको प्राङ्गणमा लु १ क ३८१४ नम्बरको बसको ठक्करवाट चार बर्षिया छात्रा सुस्मा पासवानको मृत्यु भएको छ ।
बसको ठक्करबाट कक्षा नर्सरीमा अध्यनरत बारा जिल्लाको कलैया नगरपालिका–६ घर भई हाल देवचुली नगरपालिका–१४ सातघरे बस्ने सुस्माको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक विरेन्द्रराज गुरङले बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा घाईते भएकी बालिकालाई तत्काल उपचारको लागि देवचुली नगर अस्पताल दुम्कौली पठाएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यू भएको गुरुङले जानकारी दिए । बसका चालक देवचुली नगरपालिका–१ राममन्दिर वस्ने ५१ वर्षीय जगनाथ लम्साललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैबीच मृतकका आफन्तले चालकलाई कारवाहीको माग राख्दै दिनभर विद्यालयमा घेराउ गरेका थिए । मृतक आफन्तले जिल्ला प्रहरी कार्यालय नवलपुरमा चालकलाई सवारी सञ्चालन ऐन अनुसार कारवाहीको माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
मृतकको शव साँझ पख पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएको छ । विद्यालयका प्रधानाध्यापक शिव देवकोटाले विद्यालयमा भएको घटनाका विषयमा दिन भर विद्यालयमा छलफल भएको जानकारी दिंदै मृतकको शव मंगलबार पोष्टमार्टम गरी आफन्तलाई बुझाउने जानकारी दिए ।
यसैबीच विद्यालयले एक सूचना जारी गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि विद्यालय बन्द गरिएको जनाएको छ ।