इस्लामाबाद-पाकिस्तानको राजधानी इस्लामाबादस्थित शिया मस्जिद (इमामबारगाह) मा नमाजको समयमा भएको विष्फोटमा परी कम्तिमा ३१ जनाको मृत्यु भएको छ। साथै १ सय ६९ जनाभन्दा बढी घाइते भएको जनाइएको छ।
शुक्रबार नमाजका क्रममा भएको शक्तिशाली विस्फोटमा परी ठूलो संख्यामा हताहति भएको हो। घटनास्थलका तस्बिरहरूमा रगतले लतपत भएका शवहरू कार्पेट बिछ्याइएको भुइँमा छरिएका देखिन्थे। वरिपरि सिसाका टुक्रा, भग्नावशेष र त्रसित मानिसहरू देखिएका थिए।
मस्जिद बाहिरको बगैंचामा समेत दर्जनौँ घाइतेहरू लडिरहेका थिए भने मानिसहरूले उद्धारका लागि गुहार मागिरहेका थिए। इस्लामाबाद क्यापिटल टेरिटोरी प्रहरीका प्रवक्ता तकी जवादले विस्फोटको प्रकृतिबारे तुरुन्तै निष्कर्ष निकाल्न नसकिने बताए। तर, प्रारम्भिक संकेतले आत्मघाती आक्रमण भएको हुन सक्ने जनाइएको छ।
घटनामा इस्लामाबाद प्रहरी महानिरीक्षक (आईजीपी) सैयद अली नासिरका आफन्तहरुसमेत परेको जनाइएको छ। जिल्ला प्रशासनका प्रवक्ताले सुरक्षा निकायले विष्फोट भएको क्षेत्र पूर्ण रूपमा घेराबन्दी गरेको जानकारी दिए। साथै विभिन्न अस्पतालमा घाइतेहरूको उपचार समन्वय गर्न सहायक प्रमुख जिल्ला अधिकारीहरू खटाइएको पनि उनले बताए।
विष्फोटपछि प्रहरी र रेस्क्यु टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेका थिए। साथै संघीय राजधानीका पोलिक्लिनिक, पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) र सीडीए अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको छ।