२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

बैतडीको बस दुर्घटनामा ज्यान गुमाउनेमा बेहुलाका दुई काका पनि

बैतडीको बस दुर्घटनामा ज्यान गुमाउनेमा बेहुलाका दुई काका पनि

शुक्रवार, माघ २४ २०८२
शुक्रवार, माघ २४ २०८२
  • धगनढी-बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउनेमा सहोदर दाजु–भाइ पनि छन् । नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजु–भाइ हुन् । उनीहरू बेहुलाका सहोदर काका हुन् । 
    नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक हुन् भने विष्णुदत्त बित्थ्यडचिरकै महादेव माध्यमिक विद्यालयका शिक्षक हुन् ।
    घटनामा ज्यान गुमाउने वसन्तराज जोशी, मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन् । वसन्तराज कृषि प्राविधिक पदमा कार्यरत थिए । 
    दुर्घटनामा ज्यान गुमाउने बझाङको जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रताला मृतक वसन्तराज जोशीका सहोदर भिनाजु हुन् भने मोहनदेव भट्ट र केशवराज भट्ट बुवा–छोरा हुन् । अन्य मृतक तथा घाइतेहरू पनि बेहुलाका आफन्त रहेको बताइएको छ ।
    घटनामा बेहुलाका एक काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुवा पनि घाइते भएका छन् । घटनामा ज्यान गुमाउने बित्थडचिर ठेगाना भएका व्यक्ति एउटै गाउँका आफन्त र बाँकी इष्टमित्र रहेको बुझिएको छ । 
    सोही दुर्घटनामा ज्यान गुमाउने १४ वर्षीय किशोर सुशील जोशी बेहुलीका भाइ हुन् । घटनामा ज्यान गुमाउनेमा पुर्चौडी–७ र बझाङको बित्थडचिरका बेहुला परिवारका आफन्त र इष्टमित्र हुन् । बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडुगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना भएको हो । दुर्घटनाबाट १३ जनाको मृत्यु भएको छ । 
    बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ गइरहेको सु।प।प्र। ०२–००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति दुर्घटना भएको थियो । बस चालक वीरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    घुम्तीमा ‘ब्याक’ गरेर मोड कटाउन खोज्दा बस भीरबाट खस्यो  
    चालक बुढाले घुम्तीमा ब्याक गरेर कटाउन खोज्दा बस भीरबाट खसेको बताएको बैतडीका प्रहरी प्रमुख डीएसपी दीपककुमार रायले बताए । साँघुरो र उकालो बाटोमा बस मोड्न खोज्दा दुर्घटना भएको बताइएको छ । ब्याक गर्दा ब्रेकले समेत काम नगरेको चालकको भनाइ उदृत गर्दै डीएसपी रायले बताएका छन् । 
    साँघुरो बाटो र ओभरलोडका कारण दुर्घटना भएको उनले बताएका छन् । बस बैतडीको पुर्चौंडीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कंदै गर्दा दुर्घटना भएको थियो । 
    बझाङको बित्थडचिर गाउँपालिका–७ का वडाध्यक्ष दिनेशबहादुर अधिकारीले बेहुलीको घरबाट जन्ती लिएर छुटेको बस पाँच सय मिटर पुग्दानपुग्दै दुर्घटनामा परेको बताए । बाटो साँघुरो र उकालोसमेत रहेको वडाध्यक्ष अधिकारीले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend