२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको अवस्था सुध्रिएन

भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको अवस्था सुध्रिएन

मंगलवार, माघ २८ २०८२
मंगलवार, माघ २८ २०८२
  • काठमाडौं-भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको खराब अवस्था यथावत देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले विश्वमा व्याप्त भ्रष्टाचारको अवस्थाको मूल्यांकन गरी जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) २०२५ ले नेपाल भ्रष्ट मुलुककै श्रेणीमा सूचीकृत गरेको छ।
    ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपाल च्याप्टर टिआई नेपालले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा नेपालको सिपिआई स्कोर ३४ छ। अघिल्लो वर्ष सन् २०२४ मा पनि नेपालको स्कोर ३४ नै रहेकोमा त्यो अंक अहिले पनि यथावत देखिएको हो। सन् २०२५ मा नेपालको सिपिआई स्थान भने १०९ औँ छ। सिपिआईमा समेटिएका १८२ मुलुकको सूचीमा नेपाल उक्त स्थानमा परेको हो।
    सूचकांकले विगतको दशकमा भ्रष्टाचार नियन्त्रणमा प्रगति न्यून भएको र धेरै देशहरूमा स्थिति झन् खस्किएको देखाएको प्रतिवेदनमा उल्लेख छ।
    ट्रान्सपरेन्सी रिपोर्टअनुसार हासिल गरेको अंक र स्थानअनुसार नेपाल बढी भ्रष्टाचार हुने मुलुककै पंक्तिमा छ। नेपालको सन्दर्भमा ट्रान्सपरेन्सीले भनेको छ, ‘लामो समयदेखि नेपालले ३५ भन्दा कम अंक पाउँदै आएको सन्दर्भमा सूचकांकमा तल्लो तहमा रहेको यस अंकले नेपालमा पटकपटक सत्तामा रहेका सरकारहरूद्वारा भ्रष्टाचारविरुद्ध ठोस काम गर्न नसकेको देखाएको छ।’
    गत २३ र २४ भदौमा भएको जेन(जी आन्दोलन र देशले व्यहोर्नुपरेको अपूरणीय धनजनको क्षतिको कारक बढ्दो भ्रष्टाचार हो भन्ने आधारलाई सूचकांकको यस अवस्थाले पुष्टि गर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ।
    सूचकांकमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा डेनमार्कले विगत ८ वर्षदेखि आफ्नो स्थान कायम राख्दै यस वर्ष पनि सर्वाधिक ८० अंक प्राप्त गरेको छ। साउथ सुडान र सोमालिया नौ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा रहेका छन्।
    दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ७१ अंक, भारत र माल्दिभ्सले ३९र३९ र श्रीलंकाले ३५ अंक प्राप्त गरेका छन्। पाकिस्तानले २८, बंगलादेशले २४ र अफगानिस्तानले १६ अंक पाएका छन्। छिमेकी मुलुक चीनले ४३ अंक प्राप्त गरेको छ। भुटानबाहेक अधिकांश दक्षिण एसियाली देशमा भ्रष्टाचार समस्याकै रूपमा रहेको देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend