पोखरा-बिद्यार्थी बोक्ने बस संचालनमा निजी विद्यालयका संचालकहरुले वेवास्ता गर्दै खुल्ला छाडिदिने गरेको भेटिएको छ । बिद्यार्थीहरुसँग विभिन्न वहानामा मोटो रकम असुलेर शिक्षालाई व्यापारको केन्द्र बनाएका विद्यालय संचालकहरुको बस संचालनमा देखाएको गम्भिर लार्पावाहीले बिद्यार्थीहरुले जोखिमपूर्ण यात्रा गरिरहेको रहस्य पनि खुलेको छ । बिद्यार्थी बोक्ने बसका चालकहरुले मदिरा सेवन गरेर बस हाँक्ने गरेको तथ्य सोमबार पोखरामा प्रहरीले गरेको चेकजाँचकाक्रममा सार्वजनिक भएको हो ।
कतिपय निजी विद्यालयले एक त पुराना थोत्रा बस रंगाएर चलाउने गरेका कारण दुर्घटनाको जोखिम रहेकै अबस्थामा त्यसमाथि चालकहरुले रक्सी खाएर व्यस्त बजारमा बस कुँदाउदा झनै खतरा देखिएको छ । विद्यालय संचालकले बस चालकहरुको आनीबानी र अनुशाषनलाई गम्भिरतापूर्वक निगरानी नगरिकन खुल्ला छाडिदिदा उज्यालो भविष्यको लागि पढ्न गएका बिद्यार्थीहरुको ज्यानै नै जोखिममा रहेको छ ।
प्रहरीले मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने पाँच चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा माउण्ट हेवन बोर्डिङ स्कुलको ग१क ३६७४ नं बसका चालक ३३ वर्षीय आनन्द परियार र कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग१क १३८२ नं बसका चालक ३७ वर्षीय गौतम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
यस्तै, बिन्देश्वरी बोर्डिङ स्कुलको ग१क ६२२१ नं बसका चालक ४४ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलको ग१क ६४३ नं बसका चालक ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एसओएस बोर्डि स्कुलको ग१क ६४३३ नं बसका चालक ४७ वर्षीय पदम विकलाई मादक पदार्थ सेवन गरी बस चलाइरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ गरिएकाहरूलाई कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।