काठमाडौँ-अष्ट्रिया, वेलायत, टर्की र रोमानिया पठाइ दिन्छु भन्दै लाखौं रुपयाँ ठगि गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाहरुमा झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौँ तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका छन ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै ५० लाख, निरौलाले टर्की पठाउने भन्दै दुई लाख तीन हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै सात लाख ५० हजार रुपैयाँ लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका सातै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँमा पठाइएको छ ।