२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

आज मध्यरातिदेखि अत्यावश्यक र निर्वाचन आयोगबाट पास पाएका बाहेकका सवारी संचालनमा रोक

आज मध्यरातिदेखि अत्यावश्यक र निर्वाचन आयोगबाट पास पाएका बाहेकका सवारी संचालनमा रोक

बुधवार, फाल्गुण २० २०८२
बुधवार, फाल्गुण २० २०८२
  • काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुधबार फागुन २० रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
    निर्वाचन सुरक्षा व्यवस्थालाई कडाइ गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । यद्यपि, अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुनेछन् । 
    आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चानलमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार, राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । 
    उनले भने, “आज राति १२ बजेबाट भोलि मतदानको कार्य सम्पन्न नहुन्जेलसम्म अथवा भोलिको साँझ ५ बजेसम्म सवारीसाधन आवागमनमा निषेध गर्ने गरी निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । सोबमोजिम अति आवश्यक सेवाका केही सवारीसाधनबाहेक अन्य सवारीसाधनहरू चलाउन नपाइने अवस्था हुन्छ ।”
    मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए । उनका अनुसार, आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । 
    सूचना अधिकारी घिमिरेका अनुसार अतिआवश्यक सेवाका सवारी एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरू सञ्चालन गर्न पाइनेछ । 
    साथै, कूटनीतिक नियोगका नीलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पासप्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ । 
    सम्पूर्ण मतदाता तथा यात्रुहरूलाई आफ्ना गन्तव्यमा पुग्नुपर्ने भए सवारीसाधन बन्द हुनुअगावै पुगिसक्न सूचना अधिकारी घिमिरेले आग्रह गरे । 
    आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ । आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend