ओखलढुङ्गा-ओखलढुङ्गाको मानेभन्ज्याङ–७ स्थित सातसल्लेको शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा १२ बजे सम्म १ जना पनि मतदाताले मतदान गरेका छैनन् ।
उनीहरुले मतदान नगर्ने निर्णय गर्दै निर्वाचन बहिष्कारको घोषणा गरेको स्थानीय कुमार गौतमले बताए । टोक्सेलको हर्कपुरमा प्रादेशिक अस्पताल स्थापना गर्न जग्गा दिएका स्थानीयहरूले अस्पताल स्थापना गर्ने कार्य सरकारले अघि नबढाएपछि उनीहरुले आम भेलाबाटै मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका थिए ।
स्थानीयको माग सरकारले नसुनेपछि उनीहरु ‘नो भोट’ अभियानमा लागेका हुन् । निर्वाचनमा खटाइएका कर्मचारीहरूले जनप्रतिनिधिहरूको रोहबरमा मुचुल्का उठाएर बसे पनि मतदाता एक जना पनि नआएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले बताए । समयसम्म कर्मचारी बस्ने र कोही नआएमा अस्थायी मतदाता खटिएका कर्मचारीले मतदान गरेर केन्द्र बन्द हुने उनले बताए ।
उक्त केन्द्रमा ७०१ मतदाता छन् । स्थानीयले १६७ रोपनी जग्गा दिएर प्रादेशिक अस्पताल बनाउने प्रक्रिया थालिए पनि काम अघि बढेको छैन । मतदान प्रक्रिया तयारी अवस्थामा रहे पनि म त दाता हालसम्म कोही नआएको मतदान अधिकृत प्रवासी राईले बताइन् । आफूहरु मतदाताको प्रतिक्षामा रहेको उनको भनाइ छ ।