पोखरा- कास्कीको निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तमप्रसाद पौडेल निर्वाचित भएका छन् । उनले ३१ हजार ९ सय ११ मत पाए । दोस्रो स्थानका एमाले उम्मेदवार रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत ल्याएका छन । एमालेका् गढको रुपमा रहेको कास्की क्षेत्र नं २ देशभर बढारिनेक्रममा यो क्षेत्रमा पनि विजेता पौडेल भन्दा चार गुणा मतान्तरले पछाडि धकेलिएको हो ।
कुल खसेको मतमध्ये पौडेलले ६० प्रतिशत मत ल्याए । यस क्षेत्रमा कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ६ हजार ५ सय, राप्रपाका हेमजंग गुरूङले १ हजार ६ सय ४३, नेकपाका हेमबहादुर थापाले १ हजार २ सय ७६, उज्यालो नेपाल पार्टीका कुशल गुरूङले १ हजार २ सय १ मत प्राप्त गरे ।
निर्वाचित पौडेल यसअघि सञ्चारकर्मी हुँदै रास्वपामा सक्रिय थिए । ८४ हजार १ सय ३४ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ५ सय १९ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ८ सय ४४ मत बदर भएको थियो । यहाँ १२ दल र ५ स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा थिए ।