काठमाडौं-प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार विजयी भएका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत पाएका छन् ।
झापा२ बाट रास्वपाकी इन्दिरा राना मगर ६० हजार ११० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार देवराज घिमिरेले ११ हजार ३६८ मत पाए । विघटित प्रतिनिधिसभामा घिमिरे सभामुख थिए भने राना उपसभामुख थिइन् ।
त्यस्तै, झापा(३ मा रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत ल्याउँदै निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत पाएका छन् ।
झापा ४ बाट पनि रास्वपाकै शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मतसहित निर्वाचित भएका छन् । एमालेका लालप्रसाद साँवा लिम्बु निकटतम प्रतिद्वन्द्वी बनेका छन् । उनले ११ हजार ९८६ मत पाए ।
झापा ५ बाट रास्वपाका वालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई पराजित गरेका हुन् ।
बालेनले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत पाएका छन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।