२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

उपत्यका बाहिर बागमतीका ७ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

उपत्यका बाहिर बागमतीका ७ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौँ– काठमाडौँ उपत्यकामा सबै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाहिर पनि बागमती प्रदेशका १० जिल्लाका १८ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै सिट जितेको छ। १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये रास्वपाले १६ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको हो। 
    बागमती प्रदेशमा सबैभन्दा अन्तिममा मतगणना सकिएको नुवाकोट–१ मा पनि रास्वपा नै विजयी भएको छ। रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन्। 
    उपत्यका बाहिरका १८ वटै निर्वाचन क्षेत्रमा नेकपा (एमाले) ले जीत निकाल्न सकेन। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने एक(एक निर्वाचन क्षेत्रमा खाता खोल्न सफल भएको छन्। 
    यसअघि कांग्रेसको गढ बनेको रसुवामा मोहन आचार्यले विरासत कायम राख्न सक्दा उपत्यका बाहिर बागमतीका १८ मध्ये एक सिट जितेको हो। आचार्य १० हजार ६५६ मत प्राप्त गरेर विजयी भएका हुन्। 
    यता, सिन्धुपाल्चोक–२ मा नेकपाका उम्मेदवार युवराज दुलाल विजयी भएका हुन्। उनले २१ हजार ६९९ मत प्राप्त गरे। दुलालले कांग्रेसका उम्मेदवार वंशलाल तामाङलाई पराजित गरेका हुन्। यी क्षेत्र बाहेक सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। 
    रास्वपाले १६ निर्वाचन क्षेत्रमा जीत निकालेको छ। दोलखामा ३२ हजार ३७६ मत सहित जगदीश खरेल विजयी भएका हुन् भने रामेछापमा २४ हजार ८०८ मत कृष्णहरी बुढाथोकी विजयी भएका छन्। 
    दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा रास्वपाकै क्लिन स्वीप भएको छ। सिन्धुली–१ मा धनेन्द्र कार्कीले १६ हजार ६५९ मत ल्याएर विजयी हुँदा सिन्धुली–२ मा आशिष गजुरेलले १७ हजार ९४० मत प्राप्त गरेर विजयी भएका हुन्। 
    यस्तै, धादिङमा पनि रास्वपाकै क्लिन स्वीप भएको छ। धादिङ–१ मा आशिका तामाङले ३९ हजार १२८ मत प्राप्त गरेर विजयी भइन् भने धादिङ–२ मा बोधनारायण श्रेष्ठले २६ हजार २४५ मत प्राप्त गरेर विजयी भए। 
    नुवाकोट–२ मा अच्युतम लामिछाने ३२ हजार ५४ मत सहित विजयी हुँदा काभ्रेको दुवै क्षेत्रमा रास्वपाले विजय हासिल गर्‍यो। काभ्रे(१ मा मधुकुमार चौलागाई २९ हजार ६१८ मत सहित विजयी हुँदा काभ्रे(२ मा बदनकुमार भण्डारी ५३ हजार ३५४ मत सहित विजयी भए। 
    सिन्धुपाल्चोक–१ मा भरतप्रसाद पराजुलीले २४ हजार ४१२ मत ल्याएर विजयी हुँदा चितवनका तीनै क्षेत्रमा रास्वपाको क्लिन स्वीप भएको छ। चितवन–१ मा सोबिता गौतम ५९ हजार २७७ मत ल्याएर विजयी हुँदा चितवन–२ मा रास्वपा सभापति रवि लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भए। चितवन–३ मा हरि ढकालले ५८ हजार २०८ मत प्राप्त गरेर विजयी भएका हुन्। 
    दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ। मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमले ३३ हजार ३६ मत प्राप्त गरेर विजयी हुँदा मकवानपुर–२ मा प्रशान्त उप्रेतीले ३० हजार ५० मत प्राप्त गरेर विजयी भएका हुन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend