२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

तीन महिनामा श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्न सफल

तीन महिनामा श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्न सफल

मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • धरान–धरानका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फको तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउने भएको छ।
    कोसी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये तीन सिटमा साम्पाङको दलले जित हासिल गरेको छ। तामझामबिना नै श्रम संस्कृतिको अजेन्डा लिएर चुनावी मैदानमा उत्रिएको यस दलले सुनसरी १, भोजपुर र खोटाङमा जित हासिल गरेको हो ।
    सुनसरी १ बाट पार्टी अध्यक्ष हर्क साम्पाङ ३५ हजार ७१ मतसहित विजयी भएका छन् । उनले रास्वपाकी कोसी प्रदेश अध्यक्ष गोमा तामाङलाई आठ हजार ४९२ मतान्तरले पराजित गरे । तामाङले २७ हजार २४९ मत पाएकी थिइन् ।
    त्यसैगरी, भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले नेकपा ९एमाले०का सचिव एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका छन् । ध्रुवराजले १६ हजार ६६३ मत ल्याउँदा शेरधन १४ हजार ७५० मतमा खुम्चिए । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मतका साथ विजयी भएका छन् । उनले एमालेका देवविक्रम राईलाई पराजित गरे ।
    समानुपातिकतर्फ ९२ लाख ३९ हजार ९४७ मत गनिसक्दा साम्पाङको दलले तीन लाख २० हजार २८१ मत पाएको छ । अहिलेसम्मको नतिजाअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा सहित ६ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ ।
    कोसी प्रदेशका २८ क्षेत्रमध्ये रास्वपा १७ सिटका साथ पहिलो शक्ति बनेको छ भने कांग्रेस र एमालेले तीन तीन सिट मात्र जितेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नतृत्वको नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले कोसी प्रदेशमा शून्य सिट हासिल गरेको छ ।
    राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल हर्क साम्पाङलाई एउटा निश्चित समुदायको ‘अर्गानिक’ नेताका रूपमा चित्रण गर्छन् । साम्पाङ र उनको टोली आफ्नै समुदायसँगै भिजेकाले जनस्तरबाट बलियो साथ पाएको पोखरेलको विश्लेषण छ । “उहाँ मनमा कुरा नलुकाई स्पष्ट बोल्ने मान्छे हुनुहुन्छ, जे छ त्यही रूपमा प्रस्तुत हुनुभयो, त्यसैले उहाँको समुदायले चुनावमा माया गरेको हो,” पोखरेल भन्छन्, “पूर्वी क्षेत्रमा पहिचानवादी आन्दोलन र विकल्पको खोजी भइरहेका बेला आन्दोलनकारीहरूले हर्क साम्पाङमा ‘लिडिङ फेस’ देखे।”
    पार्टी गठन गरको चार महिनामै प्राप्त उपलब्धिबाट उत्साहित श्रम संस्कृति पार्टीले अब संसद्‌मा सशक्त प्रतिपक्षीको भूमिका खेल्ने जनाएको छ। पार्टीका उपमहासचिव समीर तामाङले जनताले आफूहरूलाई संसद्को पहरेदारका रूपमा पठाएको प्रतिक्रिया दिन्छन्।
    “केन्द्रीय समितिले पूर्णता नपाउँदै हामी चुनावमा होमिनुपर्‍यो, तर कोसीमा पहिलेदेखि नै श्रमदान अभियान सञ्चालन भएकाले जनताले विश्वास गरे,” तामाङ भन्छन्, “हामी धर्म र वर्गभन्दा माथि उठेर काम गर्छौं । अब दार्चुलामा तुइन विस्थापन गरी श्रमदान अभियान सुरु गर्ने हाम्रो योजना छ।” 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend