२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

बिहे भोज खान गएका दुई किशोरी मृत भेटिए, एक वेपत्ता

बिहे भोज खान गएका दुई किशोरी मृत भेटिए, एक वेपत्ता

बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • रुकुम पश्चिम - बिहे भोज खान गएका दुई छोरी गुमाएपछि बाँफीकोट गाउँपालिका–३ गरालाबोटकी पविता ओली विक्षिप्त बनेकी छिन् । बेलाबेला टोलाउने र बेहोस भइरहेकी उनका आँखा अहिले ओभाएका छैनन् । 
    गत सोमबार साँझ नदीपारिको बस्तीमा बिहे भोज खान गएका उनका दुई छोरी कल्पना र उर्मिला मंगलबार बिहान नदी छेउमा मृत अवस्थामा भेटिएका हुन् । उनका अनुसार सोमबार साँझ ५ बजेतिर कल्पना, उर्मिलासँगै छोरा अमृत र जेठाजूकी छोरी सपना सानीभेरी नदीमाथिको झोलुङ्गे पुल तरेर करिब १ घण्टा टाढा रहेको मुसिकोट नगरपालिका–१ स्थित भलखोलामा साथीको बिहेमा सहभागी हुन गएका थिए । 
    सोही राति ८ बजेतिर कल्पना, उर्मिला र सपना बिहे घरबाट आफ्नो घरतिर फर्किए पनि गन्तव्यमा भने पुगेनन् । भोलिपल्ट बिहान साढे ८ बजेतिर करिब २ सय मिटरको फरकमा घरदेखि तल रहेको नदी किनारमा कल्पना र उर्मिलाको शव भेटियो । सपना भने अहिलेसम्म बेपत्ता छिन् । 
    मृतक र बेपत्ता भएकाहरूसँग घरबाट सँगै गएका उनीहरूका दाइ १८ वर्षीय अमृतले आफूले बिहे घरमा बहिनीहरूलाई राति ८ बजेसम्म देखेको बताए । ‘८ बजेपछि मैले उनीहरूलाई त्यहाँ देखिनँ । घर आए होलान् भन्ठानेँ अनि म साथीहरूसँग राति १२ बजेतिर फर्किएर साथीकोमै सुतेँ । बिहान त यस्तो घटना भयो,’ उनले भने । 
    मंगलबार बिहान गाउँलेले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शव कल्पनाको भन्ने पहिचान खुल्यो । अनि साथैमा गएका अरू दुई जना ९उर्मिला र सपना०बारे सोधीखोजी गर्दा केहीबेरमा करिब २ सय मिटर तल उर्मिलाको पनि शव भेटियो । सपनाको बारेमा भने अत्तोपत्तो भएन । 
    यसपछि छोरीहरू गुमाएकी आमा पविता र उनको परिवार शोकमा डुबेको छ भने पविताका जेठाजूकी छोरी सपनाको बिहीबार साँझसम्म अत्तोपत्तो छैन । सपनाका बुबा लोकबहादुर र आमा डिलसरा पनि विक्षिप्त बनेका छन् । बुधबार मृतक उर्मिला र कल्पनाको पोष्टमार्टम गरेर सोही दिन अन्त्येष्टि गरिएको थियो । सपनाको खोजीका लागि आफन्त र प्रहरी नदी छेउछाउ खटिएका छन् । 
    १३ वर्षीया उर्मिला र सपना मुसिकोट–१ मा रहेको त्रिपुरा माविमा कक्षा ६ मा पढ्थे । ११ वर्षकी कल्पना गाउँकै जनहित आविमा कक्षा ५ मा पढ्थिन् । घरबाट करिब १ घण्टाको दूरीमा नदीपारि रहेको विद्यालयमा एक वर्षदेखि पुल तरेर उनीहरू घर–स्कुल आवतजावत गरिरहन्थे । यसकारण उनीहरूका लागि यो बाटो नयाँ थिएन । बिहेबाट फर्किने बेलामा नदी तर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीको भनाइ छ । 
    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले उनीहरू नदी तर्ने क्रममा बगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘हामीले घटनास्थलदेखि शवको अवस्था र अरू विषय–प्रसंगमा अनुसन्धान गर्दा अन्य शंका गर्ने ठाउँ देखिएको छैन,’ उनले भने, ‘पोस्टमाटम रिपोर्ट फाइनल नआए पनि चिकित्सकले पानीमा डुबेकै कारण दुवैको ज्यान गएको बताएका छन् ।’ पुल हुँदा हुँदै उनीहरू नदी किन तरे होलान् भन्ने कुरा भने खुलेको छैन । विद्यालय आउजाउ गर्दा उनीहरू पुल नै तरेर आउजाउ गर्ने गरेको पारिवारिक स्रोतले बताएको छ ।
    तीन छोरी र एक छोरा गरी चार सन्तान थिए पविताका । तीमध्ये उर्मिला तेस्रो र कल्पना कान्छी सन्तान हुन् । श्रीमान‍्ले  दुई वर्षअघि अर्को बिहे गरेर आफूहरूको सम्पर्कमै नरहेको उनले बताइन् । उता बेपत्ता भएकी सपनाका बाआमाले छोरीको खोजीका लागि गुहार लगाएका छन् । प्रहरीले यस प्रकारका घटना प्रहरी रेकर्डमा रहिरहने र आवश्यक अनुसन्धान चलिरहने भन्दै पीडित आफन्तलाई सम्पर्कमा राख्ने र कुनै पनि शंका लाग्ने कुरा पाइएमा अनुसन्धान अघि बढाइने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend